कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको छ ।
धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ ।
“तीन वर्षको अवधिमा तीन सय ७१ पशुमा रेबिजको सङ्क्रमण पुष्टि भइसकेको छ”, उनले भने, “यो त प्रयोगशालालाई जानकारी भएको मात्र हो, यसै बीचमा कम्तीमा पनि पाँच जना मानिसको रेबिज सङ्क्रमणकै कारण मृत्यु भएको जनाकारी भएको छ, धेरैजस्तो त जानकारीमै नआउने भएकाले मृत्युको सङ्ख्या धेरै हुनसक्ने देखिन्छ ।”
रेबिजकै कारण यसै साता बझाङको सुर्मा गाउँपालिका-२ की ७० वर्षीया महिलाको मृत्यु भएको जानकारी आएको वरिष्ठ पशु चिकित्सक जोशीले बताए ।
उनका अनुसार यसअघि यसै वर्ष असार महिनामा बैतडीमा एक बालकको पनि रेबिजका कारण मृत्यु भइसकेको छ ।
सबैभन्दा बढी रेबिजको सङ्क्रमण कैलाली र कञ्चनपुर जिल्लामा रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा सङ्कलित एक सय ७० नमूनामध्ये एक सय ३६ मा रेबिज पुष्टि भएको छ ।
सो आर्थिक वर्षमा सबैभन्दा बढी सङ्क्रमण कैलालीमा भेटिएको छ । त्यहाँ सङ्कलन गरिएका ९८ नमूनामध्ये ७८ पोजेटिभ पाइएको छ । त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, बझाङका तीन, डोटीका आठमध्ये छ पोजेटिभ परिणाम आएको छ ।
कैलालीको गोदावरी नगरपालिका-६ मा अन्य पशुलाई टोक्दै हिँडेको एक पशुमा दुई दिनअघि मात्रै रेबिज पुष्टि भएको छ ।
प्रयोगशालाको द्रुत प्रतिकार्य टोली (आरआरटी)ले सङ्कलन गरेको नमूना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको वरिष्ठ पशु चिकित्सक जोशीले जानकारी दिए ।
यसअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ मा बहुला कुकुरमा रेबिज पुष्टि भएको थियो भने हाल सोही नगरपालिकाको वडा नं १२ मा समेत कुकुरको आतङ्क बढ्दै गएको नगरपालिकाको पशुपन्छी विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताए ।
उनका अनुसार पछिल्लो समय स्यालहरू एकाएक मानव बस्तीमा पस्न थालेका छन्, त्यसको मुख्य कारण उखुखेती कटानीका कारण प्राकृतिक बासस्थान नष्ट हुनु रहेको छ ।
“उखु कटानीको सिजन शुरू भएपछि स्यालको लुक्ने ठाउँ र आहार क्षेत्र मासिएको छ”, भट्ट भन्छन्, “बासस्थान अभाव भएपछि स्याल आहाराको खोजीमा बस्ती पस्ने, घरपालुवा कुकुर तथा पशुलाई टोक्ने र त्यसैबाट रेबिजको सङ्क्रमण तीव्रगतिमा फैलिएको छ ।”
पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार रेबिज शतप्रतिशत प्राणघातक रोग भए पनि समयमै उपचार र सावधानी अपनाएमा ज्यान जोगाउन सकिन्छ ।
उनका अनुसार कुनै पनि पशुले टोकेमा घाउलाई १०-१५ मिनेटसम्म साबुन र सफा पानीले राम्ररी धुने, घाउ सानो भए पनि ढिलाइ नगरी तुरुन्त स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउने कार्य गर्नु पर्दछ ।
असामान्य व्यवहार गर्ने, टोक्ने वा र्याल झार्ने पशु देखिएमा स्थानीय तह वा पशुपन्छी सेवा शाखामा तुरुन्त जानकारी गराउने, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन, जङ्गली जनावर तथा भुस्याहा कुकुरबाट टाढा रहन र बालबालिकालाई विशेष सतर्कता अपनाउन लगाउने कार्य गर्नुपर्ने उनको भनाइ छ । रासस