काठमाडौँ । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकले आफ्नो बाँकी कैद अवधि घरमा नजरबन्दमा बिताउने प्रयास असफल भएको छ ।
कुआलालम्पुर हाई कोर्टले सोमबार उनको यो आवेदन खारेज गर्दै कैद काजाङ जेलमै काट्नुपर्ने फैसला सुनाएको हो ।
हाई कोर्टकी न्यायाधीश एलिस लोक यी चिङले नजिबले पेस गरेका अतिरिक्त प्रमाणहरू अवैध भएको ठहर गरे ।
पूर्वराजाले जारी गरेको भनिएको एडेण्डम आदेश संवैधानिक प्रक्रियाअनुसार नभएको र पार्डन्स बोर्डको बैठकमा छलफल नभएकोले वैध नहुने बताए ।
मलेसियाली कानूनमा घरमा नजरबन्दको प्रावधान नभएको पनि अदालतले उल्लेख गरेको छ । ७२ वर्षीय नजिबले यो फैसलाविरुद्ध अपील गर्ने आफ्ना वकिल मुहम्मद शाफी अब्दुल्लाहले जानकारी दिए।
नजिबलाई सन् २०२० मा राज्यकोष १एमडीबीको सहायक कम्पनी एसआरसी इन्टरनेसनलबाट ४२ मिलियन रिंगिट दुरुपयोग गरेको अभियोगमा १२ वर्ष कैद र २१० मिलियन रिंगिट जरिवानाको सजाय सुनाइएको थियो ।
पछि पार्डन्स बोर्डले सजायलाई ६ वर्ष कैद र ५० मिलियन रिंगिट जरिवानामा घटाएको थियो ।
उनी सन् २०२२ देखि काजाङ जेलमा कैद भुक्तान गरिरहेका छन् । नजिबले गत वर्ष पार्डन्स बोर्डको निर्णयमा पूर्वराजाले घरमा नजरबन्दको अतिरिक्त आदेश जारी गरेको दाबी गर्दै न्यायिक पुनरावलोकनको माग गरेका थिए ।
तर अदालतले यो दाबी खारेज गरेको हो । यो फैसला १ एमडीबी घोटालासँग जोडिएको नजिबको अर्को मुद्दाको फैसला आउनु चार दिनअघि आएको हो । उक्त मुद्दामा उनलाई थप अभियोग लाग्न सक्ने सम्भावना छ ।