जेन-जीको आन्दोलन रोक्न माइतीघरमा सुरक्षा व्यवस्था कडा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
929
Shares
काठमाडौँ | 'जेन-जी' समूहले आजदेखि नयाँ चरणको विरोध प्रदर्शन सुरु गर्ने घोषणा गरेपछि काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। मिराज ढुङ्गानाको नेतृत्वमा रहेको यो समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार १०० दिनमै असफल भएको दाबी गर्दै बिहान ११ बजेदेखि आन्दोलन गर्ने तयारी गरेपछि प्रहरीले उच्च सतर्कता अपनाएको हो।
आन्दोलनको नेतृत्व गरिरहेका अभियन्ता ढुङ्गानाले आफूहरूकै बलमा बनेको सरकारले जेन-जीका माग र मुद्दाहरूलाई 'अपहरण' गरेको आरोप लगाएका छन्। "वर्तमान सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको मर्म बोक्न सकेन," ढुङ्गानाले भने, "देशका समस्याहरू समाधान नभए नेपालको स्थिति पनि बङ्गलादेशको जस्तै अराजक हुन सक्छ।" उनले यो आन्दोलन केवल निर्वाचनका लागि मात्र नभई समग्र व्यवस्था सुधार र सुशासनका लागि भएको स्पष्ट पारे।
ढुङ्गानाले सरकार भ्रष्टाचारका फाइल खोल्न असफल भएको र नातावादमा फसेको दाबी गरेका छन्। उनले प्रधानमन्त्रीको सचिवालय नातावादमा चलेको, गृहमन्त्रीले आफ्ना नातेदारका लागि प्रहरीमा दरबन्दी थपेको र महान्यायाधिवक्ताले पारिवारिक उन्मुक्तिका लागि काम गरेको जस्ता गम्भीर आरोपहरू समेत लगाएका छन्।
आफूहरू कसैबाट परिचालित नभएको स्पष्ट पार्दै ढुङ्गानाले आन्दोलन पूर्णतया शान्तिपूर्ण हुने बताएका छन्। स्मरण रहोस्, मिराज ढुङ्गाना तिनै नेता हुन् जसले भदौ २३ गतेको आन्दोलनको नेतृत्व गरेका थिए। उक्त समयमा आन्दोलन हिंसात्मक मोडमा पुगेपछि घुसपैठ भएको भन्दै उनले सबैलाई घर फर्कन आह्वान गरेका थिए। तर, सोही आन्दोलनका क्रममा भएको झडप र सरकारी हस्तक्षेपका कारण १९ जना जेन-जी युवाले ज्यान गुमाउनु परेको थियो।