निर्वाचनको अन्योल चिर्न आयोगको सक्रियता: प्रधानमन्त्री र दलहरूसँग आज 'निर्णायक' छलफल
चुनावी तयारी र सुरक्षाबारे आज दलहरूसँग सर्वपक्षीय छलफल, प्रधानमन्त्री र दलहरूबीच सिंहदरबारमा जुट्दै सहमति
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
883
Shares
तस्बिर फाइल
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको भविष्य र तयारीका विषयमा छलफल गर्न निर्वाचन आयोगले आज निर्णायक बैठक बोलाएको छ।
दिउँसो १ बजे सिंहदरबारमा आयोजना हुने यस विशेष छलफलमा प्रधानमन्त्री सुशीला कार्की, प्रमुख राजनीतिक दलका प्रतिनिधि र आयोगका पदाधिकारीहरूको सहभागिता रहनेछ। अन्तरिम सरकारले चुनावी मिति घोषणा गरिसकेको भए तापनि राजनीतिक वृत्तमा निर्वाचन हुने वा नहुने भन्ने विषयमा आशङ्काहरू उब्जिरहेका बेला यस बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ।
विशेषगरी प्रमुख राजनीतिक दलहरूले सरकार निर्वाचन गराउने जिम्मेवारीबाट पन्छिन खोजेको र तयारीमा ढिलासुस्ती गरेको आरोप लगाउँदै आएका छन्। दलहरूले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने अडान राखिरहेका बेला आजको बैठकमा सरकारको मनसाय र आयोगको वास्तविक तयारीबारे गम्भीर मन्थन हुनेछ।
बैठकमा आयोगले हालसम्म गरेका तयारीहरूको प्रगति विवरण प्रस्तुत गर्नुका साथै मुलुकको विद्यमान सुरक्षा चुनौती र आवश्यक कानुनहरूको संशोधनबारे पनि समीक्षा गर्ने कार्यक्रम रहेको छ।
यसका साथै बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका र त्यसका लागि आवश्यक पर्ने व्यवस्थापकीय पक्षबारे पनि विस्तृत छलफल हुने बताइएको छ। सरकार र राजनीतिक दलबीच बढ्दो अविश्वासलाई चिर्दै निर्वाचनको वातावरण सुनिश्चित गर्न यो सर्वपक्षीय छलफलले ठोस मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।
निर्वाचन आयोगले दलहरूको सुझाव र सरकारको प्रतिबद्धताका आधारमा आफ्ना आगामी कदमहरू चाल्ने रणनीति बनाएको छ।