कञ्चनपुर | कुनै समय जिल्लाको दुर्गम क्षेत्रका रूपमा चिनिने लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकाससँगै सुगम बन्दै गएको छ। वर्षायाममा हिलोले हिँडिनसक्नु हुने र हिउँदमा धुलोले जनजीवन कष्टकर बनाउने यहाँका सडकको नियति अब इतिहासको पानामा सीमित भएको छ।
लालझाडीको कञ्जका बलराम राना पुराना दिन सम्झिँदै भन्छन्, “वर्षा सुरु हुनेबित्तिकै बाहिरी संसारबाट काटिन्थ्यौँ, बिरामी पर्दा अस्पताल लैजान एम्बुलेन्स आउने त टाढाको कुरा, बोकेर लैजान पनि बाटो भेटिँदैनथ्यो।” हिउँदमा पनि कच्ची सडकको धुलोले जनजीवन प्रभावित हुने गरेको उनले बताए।
तर, गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकासले गति लिएको स्थानीय रामप्रसाद राना बताउँछन्। उनले नदीमा झोलुङ्गे र पक्की पुल बनेपछि आवतजावतमा थप सहजता आएको र लालझाडीको तस्बिर पूरै फेरिएको बताए। अर्की स्थानीय महेश्वरी रानाले पनि आफ्नै घरअगाडि कालोपत्रे सडक देख्दा चकित परेको र स्थानीय सरकारकै कारण यो सम्भव भएको बताइन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीका अनुसार गाउँपालिकाले योजनाबद्ध रूपमा सडक स्तरोन्नतिको काम अघि बढाएको छ। हालसम्म २७.५ किलोमिटर सडक कालोपत्रे भइसकेको उनले जानकारी दिए। गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा चानदेव–बल्मी सडक, वडा नं २ को चक्रपथ र वडा नं १ को रणनीतिक सडकहरू कालोपत्रे गरिएका छन्।
अधिकृत सार्कीका अनुसार थप ३२ किलोमिटर सडक कालोपत्रे गर्ने प्रक्रिया सुरु भएको छ। उनले कञ्चनपुरमै सबैभन्दा पहिला नगर अस्पताल निर्माण गर्ने पालिका पनि लालझाडी नै बनेको र त्यो सञ्चालनको तयारीमा रहेको बताए। यस्तै, दोदा नदीमा नन्दगाउँ–बल्मी र लालझाडी–भकुण्डा जोड्ने पक्की पुल सञ्चालनमा आइसकेका छन् भने अन्य केही पुल निर्माणको अन्तिम चरणमा छन्।
सडक र पुलको निर्माणले किसानलाई पनि ठुलो राहत मिलेको छ। अहिले किसानले उखु र तरकारी खेतबाटै सिधै बजारसम्म लैजान पाएका छन् भने एम्बुलेन्स र दमकलजस्ता सवारीसाधन गाउँका कुनाकुनासम्म पुग्न थालेका छन्। सडक सुविधासँगै गाउँमा नयाँ पसल र साना उद्योग खुल्ने क्रम बढेकाले स्थानीय युवाहरू गाउँमै स्वरोजगार बन्न थालेका छन्।