संयुक्त राष्ट्रसंघीय विकास कोषको तथ्यांक हेर्ने हो वर्षमा एक पटक नेपाली संसदीय टोली अस्ट्रेलिया भ्रमण गर्दोरहेछ । सन् २०२१ को तथ्यांकका आधारमा हेर्दा हाल अस्ट्रेलियामा स्थायी रुपमा बसोबास गर्ने नेपालीको संख्या करिब दुई लाख छ ।
वर्षमा करिब लाख जना आमाबाबु वा आफन्तहरू छोराछारी वा भाइबहिन भेट्न अस्ट्रेलिया भ्रमणमा आउँछन् । वर्षमा २०–३० जना नेपाली कर्मचारी अस्ट्रेलियामा पढेर फर्किन्छन् ।
यसरी हेर्दा करिब तीन लाख नेपाली आँखाहरूले यस मुलुकको विकास देखेका छन् । करिब तीन लाख नेपाली मुखहरूले यस मुलुकको विकासको वर्णन गर्दा हुन् ।
यी अनगिन्ती कहानीमध्ये आज म यहाँको यातायात व्यवस्था त्यसमा पनि सडक सुरक्षाबारे जर्नलिङ गर्दैछु । यो जर्नलिङ सवारी नियम उल्लंघन गर्ने चालकहरू खासगरी दुई पांग्रे सवारी साधनका प्रयोगकर्ता र जथाभावी बाटो काट्नेहरूका समर्पित छ ।
तपाईंहरूलाई लग्ला उताको कुरा गरेर नेपालमा चल्छ र ? तर नेपालमा सुधार गर्नका लागि कहाँबाट को आउँछ ? आखिर गर्नु त हामीले पर्ला । सिकेर नै गर्ने हो ।
त्यसैले अब यस्ता कुरा सुनौँ र व्यवहारमा उतारौँ ।
अस्ट्रेलियाको राजधानी क्षेत्र जसलाई क्यापिटल टेरीटोरी भनिन्छ, त्यस क्षेत्रमा सामान्यतया सवारी गति ४५ किमी प्रतिघन्टा तोकिएको छ । त्यहाँ नियम उल्लंघन भए वा सिमा नाघेर सवारी चलाए १८ सय १० अस्ट्रेलियन डलर जरिबाना र ६ डिमेरिट प्वोइन्ट पाइन्छ ।
डिमेरिट प्वोइन्ट बढेर १२ पुगे अधिकांश राज्यमा चालकअनुमति पत्र रद्द हुन्छ । न्युसाउथ वेल्स राज्यमा भने १३ मा मात्र रद्द हुन्छ ।
यो कुरो हाम्रोमा पहिले लाइसेन्समा प्वाल पारेए जस्तै हो । यो कुरो पनि पूर्णरुपमा चालक अनुमति पाएकाहरूका लागि मात्र हो । सिकारुले त चार डिमेरिट्स पाइसक्दा फेरि खुस्किन्छ ।
यही गल्तीमा पश्चिमी अस्ट्रेलियामा १२ सय डलर र सात प्वोइन्ट डिमेरिट्स पाइन्छ । सामान्य गल्ती जस्तो कि एकतर्फी बाटोमा प्रवेश गरे पाँच सय ३० डलर र सवारी चलाउँदा मोबाइल फोन चलाएमा ६ सय २० डलर र ६ प्वोइन्ट काटिन्छ । तिब्र गति लगायतका गल्तीहरू बारम्बार दोहोरिए ३३ सय डलरसम्म जरिबाना हुन्छ । यो रकम आजको सटही दरमा तीन लाख ३० हजार नेपाली रुपैयाँ हुन्छ ।
नेपाली चालकहरूले पटक्कै वास्ता नगर्नेमध्ये जेब्रा क्रसिङमा रोक्नुपर्छ भन्ने एउटा विषय हो । म आफैँ सडक सुरक्षाका क्षेत्रमा काम गर्ने भएकाले बेलाबेलामा सडकमा बसेर भिडियो खिच्छु ।
९० प्रतिशत चालकहरू अझ त्यसमा पनि दुई पांग्रेका चालकहरू जेब्रामा रोक्दैनन् । उल्टै बटुवालाई आँखा तरेर हुँइकिन्छन् । कथंकदाचित कसैले रोके पछाडिबाट हान्ने डर हुन्छ ।
अस्ट्रेलियामा जेब्रामा बटुवालाई बाटो नदिए चालकलाई कम्तीमा पनि चार सय ५७ डलर र तीन डिमेरिट प्वोइन्ट दिइन्छ । अझ जेब्रामा बटुवालाई ठक्कर दिए ३३ सय डलर जरिबाना हुन्छ । बटुवा पेटीबाट जेब्रातिर मोडिनासाथ चालकले गाडी रोक्छ । बटुवाले जेब्रामा खुट्टा राखेको अवस्थामा चालकले गाडी अघि बढाए ऊ कारबाहीको भागी हुन्छ ।
बटुवालाई पनि हिँड्ने अनुशासन छ । जथाभावी बाटो काट्ने वा रातो बत्ती देख्दादेख्दै काट्नेलाई ७६ देखि एक सय ५० डलरसम्म जरिबाना हुन्छ । त्यस्तै तिब्र गतिका राजमार्गमा प्रवेश गर्नेलाई पाँच सयदेखि २२ सय डलरसम्म जरिबाना भएको तथ्यांक छ ।
यहाँ सडक विभिन्न वर्गमा बाँडिएका छन् । यस्तो विभाजन नेपालमा पनि छ तर अधिकांशलाई यसबारे जानकारी छैन । भए पनि बेवास्ता गर्छन् । राजमार्गमा बिस्कुन सुकाउने पनि छन् ।
अस्ट्रेलियामा कम्तीमा ४० देखि एक सय ३० प्रतिघन्टासम्म गति तोकिएका सडक छन् । वस्ती, स्कूल क्षेत्र आदि ४० वाला हुन् भने मुख्य सहरमा ६० देखि ८० किमीको गति तोकिएको छ ।
त्योभन्दा पर एकान्तका सडकहरू सयदेखि एक सय १० र कुनैकुनै क्षेत्र जस्तै नर्दन टेरीटोरीमा एक सय ३० किमी प्रतिघन्टासम्म हाँक्ने अनुमति छ । यस्ता सडकलाई फ्रि वे वा एक्सप्रेस वे भनिन्छ । यस्ता सडकमा गाडि तिब्र गतिमा हाँकिन्छ र सडकमा एक्कासी आउने जोकोही मारिन्छन् ।
यसमा कानून नलाग्ने चाहिँं होइन तर गाडीको धेरै नजिकै कोही देखिए रोक्न सम्भव हुँदैन । चालक आफैँ मर्न सक्छ । त्यसैले यहाँका मोटरवेजमा जंगली जनावर त कतैकतै पाल्तु जनावर पनि मारिएका प्रशस्त भेटिन्छन् ।
यस्ता सडकमा पस्ने बटुवालाई पाँच सय सम्म जरिबाना हुन्छ । लाइसेन्स दिने गज्जबको प्रचलन छ ।
हाम्रोमा जस्तो लिखित परीक्षा पास गरेर ट्रायल पास गर्नासाथ यहाँ लाइसेन्स पाइँदैन ।
हाम्रोमा कुनै निश्चित संकेत जस्तै अंग्रेजीको ८ चिन्हमा घुमाउन लगाएर दिइएको लाइसेन्सको वैधता कसरी जाँच्ने । हाम्रोमा लाइसेन्सका लागि कुनै सीमाभित्र गाडी चलाउन लगाइन्छ तर पास भएपछि चालकले गाडी सडकमा हाँक्नुपर्छ ।
अस्ट्रेलियामा सडकमै कुदाएरमात्र गाडीको लाइसेन्स पाइन्छ । शुरूमा १६ वर्ष पुगेपछि आँखा जाँच पास गरी सडक सुरक्षा लिखित परिक्षा पास गरेपछि लर्नर लाइसेन्स दिइन्छ ।
यसमा सिकारु अथवा एल चिन्ह लेखेको हुन्छ । त्यो पास गरेपछि अलि जान्ने वर्गमा उतारिन्छ र प्रोभिजनल लाइसेन्स दिइन्छ । प्रोभिजनलले गाडीमा पी टाँसेर हाँक्छन् ।
त्यो पी पनि शुरूमा रातो अनि अलि जान्ने भएपछि हरियो पी दिइन्छ । त्यो हरियो पीबाट माथि उठेपछि पूरा जान्नेहरूले पाउने फुल लाइसेन्स पाइन्छ ।
यसका लगि कहीँ कतै धाउनुपर्दैन । आफैँ सिक्ने हो तर एल पाएपछि राज्यैपिच्छे पाँच देखि १० वर्षभित्रमा पी लिन योग्य नठहरिए फेरि जाँच दिएर एल लिनुपर्छ । यस बीचमा पूर्ण रूपमा अनुमति प्राप्त जो कोही चाहे घरको सदस्य होस् वा अन्य कोहीको प्रत्यक्ष निगरानीमा कम्तीमा पनि सयदेखि एक सय २० घन्टा तोकिएको ढाँचामा गाडी हाँकेको हुनु पर्दछ । कुनै राज्यमा १० र कुनै २० घन्टा अनिवार्य राति गाडी चलाएको हुनुपर्दछ ।
जसले निगरानी गर्ने हो उसले फर्म भरेर प्रमाणसहित पेस गर्दछ । पछि केही कैफियत देखिएमा निगरानीकर्तामाथि पनि कारबाही हुन्छ ।
यो एल अवधिमा चालकलाई मोबाइल फोन प्रयोग र मादक पदार्थ वर्जित गरिएको छ । यतिसम्म कि ह्यान्ड्स फ्री मोडमा पनि मोबाइल प्रयोग गर्न वर्जित छ ।
यो अवधि पूरा भएपछि पी वर्गमा चढिन्छ ।
यसका लागि कम्तीमा पनि १७ वर्ष पूरा भएको हुनुपर्दछ । शुरूमा रातो पी दिइन्छ । यसको अवधि कम्तीमा एक वर्षको हुन्छ । यस अवधिमा एलका सबै सर्त लागू हुन्छन् । कुनै कुनै क्षेत्रमा यस वर्गको लाइसेन्सधारीलाई बढी क्षमता भएका सवारी चलाउन दिइँदैन ।
यो अवधि बिना कसूर काटे हरियो पी दिइन्छ । यसको अवधि दुईदेखि तीन वर्षको हुन्छ तर कुनै कुनै सहरमा २१ वर्ष नपुगेका चालकलाई राति यात्रुवाहक सवारी चलाउन प्रतिबन्ध लगाइन्छ । यो क्रम एक वर्षसम्म लागू हुन्छ ।
त्यस्तै कुनै कुनै राज्यमा पूर्ण अनुमति पत्र प्रदान गर्नुअघि कठिन परिस्थितिमा चालकले अपनाउनु पर्ने सावधानी सम्बन्धी जाँच पनि गर्ने प्रचलन छ । यसका लागि चालकले नै यसको प्रमाण प्रस्तुत गर्नुपर्दछ । खासगरी बटुवाहरू सडकभित्र प्रवेश गर्दाको अवस्था, अचानक अर्को चालकले लेन परिवर्तन गरेको अवस्था, सडकमा साइकल चालक रहेको अवस्था र अचानक सवारी जाम भएको अवस्था आदिमा चालकले गर्ने व्यवहारलाई कठिन परिस्थिति अथवा पोटेन्सियल ह्याजार्ड भनिन्छ । यस्तो जाँच गर्नका लागि कम्प्युटरको प्रयोग गरिन्छ ।
हरियो पी लाइसेन्सधारीले सातभन्दा बढी डिमेरिट्स पाए लाइसेन्स रद्द हुन्छ । अरु नियम सबै सिकारुकै लागू हुन्छन् ।
यो परीक्षा उत्तीर्ण गरेपछि स्नातक भइयो । अब भने पूर्ण क्षमताको चालक अनुमति पाइन्छ । यति गर्दा निकै होसियारलाई तीन वर्ष लाग्छ भने अलि लतरखाजी गर्नेलाई १० वर्षसम्म लाग्छ ।
अनि पो चालक खारिन्छन् त ।
लु हाम्रोमा पनि यस्तो निमय लागू गरौं त । अनि हेरौं प्रतिफल ।
अस्ट्रेलियाको भिक्टोरिया राज्यमा गरिएको एक अध्ययन अनुसार सडकमा ज्यान हताहतीमा मानवीय कारणले ७० देखि ८० प्रतिशत, यान्त्रिक कारणले बढीमा १० प्रतिशत र पूर्वाधारका कारण १० देखि १५ प्रतिशत भूमिका खेल्दछ ।
त्यसमा पनि चालकले बढी गतिमा हाँक्दा ३० देखि ४० प्रतिशत, मादक पदार्थ सेवनले १२ प्रतिशत, लागु पदार्थ सेवन गरेर सवारी चलाउँदा १६ प्रतिशत, लामो दूरीका सवारी चलाउँदा थकानका कारण २० प्रतिशत घटना घटेको तथ्यांक छ । त्यस्तै बत्तीको संकेत, ध्यान अन्यत्र केन्द्रित हुँदा जस्तै मोबाइल फोन, लेन अनुशासन आदिमा हुने कमजोरीले पनि घटना बढाउँछ ।
गाडीको समयमा जाँच नगर्ने र घटना घटेपछि मेसिन हो के भन्न सकिन्छ र भन्ने प्रचलनले पनि छ । सवारी साधन चलाउँनुअघि ब्रेक, चक्काको अवस्था आदि राम्ररी जाँच गर्नुपर्ने व्यवस्था छ । पुरानो र घेरा मेटिसकेको अझ ठाउँठाउँमा टालेको टायर प्रयोग गर्न पाइँदैन ।
यसैगरी सडकको डिजाइन हुने गल्ती जस्तै साह्रै घुमाउरो घुम्ती, साँघुरो लेन, ब्यारियरको व्यवस्था नहुनु आदि प्राविधिक गल्ती हुन् । हाम्रोमा यस्ता कुरालाई बेवास्ता गरिन्छ ।
सडकको वाह्य वातारण, वर्षा, जनावरको घुमफिर आदिले पनि सडक असुरक्षित पार्दछन् ।
नेपालमा सडक सुरक्षाका विषयमा चर्चा हुन थालेको दुई दशक नाघ्यो तर अझै पनि सडक सुरक्षा कानून बन्न नसकेको अभियन्ताहरू गुनासो गर्छन् ।
बल्लतल्ल राष्ट्रिय सडक सुरक्षा परिषद् गठन गरे पनि त्यसमा कर्मचारी नियुक्त नहुँदा अलपत्र छ भनिन्छ । यही परिषद्लाई मात्र बलियो बनाए पनि यसले प्रसस्त काम गर्छ ।
इन्जिनियरिङ काउन्सिल, मेडिकल काउन्सिल, युथ काउन्सिल, प्रेस काउन्सिल, न्याय परिषद्हरू कति शक्तिशाली छन् तर रोड सेफ्टी काउन्सिल भने अझै बामे सर्न सकेन ।
भाडाका सवारीका धनीहरूका संघसंगठनले नेता पालेको आरोप लगाइन्छ । उनीहरूकै बिगबिगी छ । निजी सवारी चालकले गल्ती गरेर सवारी अनुमति पत्र जफत गरिए ऊ जागिर बिदा लिएर लाइसेन्स लिन जानुपर्छ तर भाडाका सवारी चलाउने चालकले गल्ती गरेर प्रहरीले लाइसेन्स जफत गरे समिति वा कम्पनीका कामदारले ल्याइदिन्छन् ।
भाडाका सवारीले ठक्कर दिए पीडित नै अझ दोषी ठहरिन्छ । संघसंगठनका मानिसले घेरा हाल्छन् र प्रहरी पनि निन्याउरो बन्छ । यदि कसैले न्यायका कुरा गरे कि त उमाथि आक्रमण गरिन्छ वा दबाब दिइन्छ । यदि त्यसबाट भएन भने कुनै विदेशीेले उकासेको वा खडयन्त्रको सिद्धान्तको कुरो हुन्छ ।
मन्त्रीकै गाडीले मान्छे हान्दा पनि सामन्य कारबाही हुँदैन ।
अनि मानिस आन्दोलित नभएर के होस् त ?
यहाँ पनि त्यस्तो एउटा घटना घटेको रहेछ । एकजना मन्त्री मन्त्रालयको गाडी लिएर प्रेमिकासँग घुम्न गएछन् । कसैले देख्यो होला अथवा उनीहरूले नै तस्बिर सार्वजनिक गरे । जनताले थाहा पाए । सामाजिक सञ्जालमा जनताले यसरी लेखे कि उनले पद नै त्याग्नुपर्यो ।
नैतिकता हुनेहरूको तरिका नै फरक छ ।
हाम्रो भएको भए एआईले बनाएको भन्थे । अथवा कसैले मेरो क्यारिकेचर गर्यो भन्थे । पक्का त्यसै भन्थे ।
अस्ट्रेलियाको विकास र नेपालको विकास तुलना गर्ने हो भने हामी कति पछाडि होउँला तर एकीकरणको इतिहास हेर्ने हो भने नेपालको एकीकरण भएको अढाई सय वर्ष भयो भने अस्ट्रेलियाको एकीकरण भएको डेढ सय वर्ष पनि पुगेको छैन ।
सन् १९०१ मा मात्र विभिन्न ६ राज्य एकीकरण भएर विशाल अस्ट्रेलिया निर्माण भएको हो । मानिसको आवादीको इतिहास हेर्दा ६५ हजार वर्षदेखि यहाँ मानिसको बसोबास थियो । बेलायतीहरू भने सन् १७८८ मा यस मुलुकमा प्रवेश गरेका थिए ।
बेलायतीहरू अस्ट्रेलिया प्रवेश गरेको पनि नेपालको एकीकरणभन्दा पछि नै हो ।
यदि विस १८२५ लाई नेपालको एकीकरण भएको वर्ष मान्ने हो भने त्यो सन् १७६८ हुन्छ ।
त्यसको १० वर्षपछि बेलायतले अस्ट्रेलियामा प्रभाव जमाएको थियो ।
एकीकरणपछिका एक सय चार वर्षको राणा शासन, त्यसपछिको एक दशक, त्यसपछिका तीन दशक सबैलाई बिर्सौं । ती बेला केही भएनन् ।
त्यसपछिका ३६ वर्षमा पनि केही भएन ।
गणतन्त्र आएको दुई दशकतिर नजिकिँदै जाँदा पनि जनताको आशामाथि राज्य सकारात्मक हुन सकेन । राजनीति राज्य बनाउने नीति नभई कमाउने नीति बन्यो ।
विदेश गएकाहरूले उताको विकास देखेका छन् । उताको व्यवस्था देखेका छन् । उनीहरूले आवाज उठाउँदा उल्टै गाली गरिन्छ । खासगरी नेपालमा राजनीतिक परिवर्तनले मानिसको जीवनमा परिवर्तन ल्याएन । (ओझा किसानहरूको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल गरिरहेका छन्)