arrow

सकियो इण्डिया-नेपाल टुरिजम मिट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
india-nepal-tourism-meet.jpg

काठमाडौँ । नेपाल र भारतबीच पर्यटन साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ पोखरामा आयोजित दोस्रो ‘इण्डिया-नेपाल टुरिजम मिट’ सम्पन्न भएको छ ।

काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा भएको यो कार्यक्रम विशेष गरी उत्तर प्रदेश र गण्डकी प्रदेशबीचको पर्यटन सहकार्य विस्तारमा केन्द्रित थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथलाई केन्द्रमा राखेर भारतसँग बढ्दो पर्यटन सहकार्यलाई स्वागतयोग्य कदम भएको बताए। उनले यो सहकार्यले दुवै देशका पर्यटकीय गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमध्ये भारत सबैभन्दा ठूलो स्रोत मुलुक रहेको उल्लेख गर्दै धार्मिक, सांस्कृतिक, साहसिक र प्रकृतिमुखी पर्यटनमार्फत दुवै देश लाभान्वित हुने बताए।

भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटी सुधारले अन्तरदेशीय पर्यटनमा नयाँ गति दिएको भन्दै धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किटको संयुक्त प्रवर्द्धनमा सहकार्य आवश्यक रहेको जोड दिए। 

उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमारले उत्तर प्रदेशका प्रमुख पर्यटन परिपथहरू र आगामी माघ मेलाको विशेष आकर्षणबारे प्रस्तुति दिए।

कार्यक्रमको मुख्य आकर्षण बीटूबी सत्रमा भारतबाट १० जना र नेपालबाट ६० जना पर्यटन व्यवसायी तथा टूर अपरेटरहरूको सहभागिता थियो ।

छलफलमा स्थल मार्गबाट हुने पर्यटन, बौद्ध परिपथ, वन्यजन्तु, साहसिक र आध्यात्मिक पर्यटनमा सम्भावित सहकार्यका विषयमा गहन संवाद भएको बताइएको छ ।

यसअघि मंसिर २९ देखि पुस २ गतेसम्म उत्तर प्रदेश प्रतिनिधिमण्डलका लागि पोखरा र आसपासका गन्तव्यको परिचयात्मक भ्रमण (फ्याम ट्रिप) आयोजना गरिएको थियो ।

यो भ्रमणले पर्यटन सहकार्यलाई व्यावहारिक रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।

नेपाल पर्यटन बोर्डले यस्ता क्षेत्रीय कार्यक्रमहरूले नेपाल-भारत पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ