arrow

धुलोको कुहिरोभित्र म्याग्दीका बस्ती: विकासका ठूला मेसिनले खोस्यो स्थानीयको स्वच्छ फेरिफेरि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
myagdi-rod-dhulo.jpg

काठमाडौँ | म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाहरूका कारण उडेको धुलोले जनजीवन निकै कष्टकर बनेको छ। आयोजना स्थलमा प्रयोग गरिएका डोजर, टिपर र मालवाहक सवारीसाधनका कारण मुदी, खिवाङ, खाम्ला, बगर लगायतका एक दर्जनभन्दा बढी बस्तीहरू धुलोको चपेटामा परेका छन्।

सडकमा उड्ने बाक्लो धुलोका कारण सर्वसाधारणलाई हिँडडुल गर्न मात्र होइन, घाँस-दाउरा गर्न र गाईवस्तु चराउन समेत समस्या भएको छ। स्थानीय लीलबहादुर घर्तीका अनुसार विकास आउँदा खुसी भए पनि वनपाखा र बगैँचा धुलाम्मे हुँदा वातावरण र स्वास्थ्यमा गम्भीर असर परेको छ। खाराका ज्ञानबहादुर पुनले भने, "बगैँचा, खेतबारी र घाँसपातमा धुलो थुप्रिएर उपभोग गर्नै नसकिने भएको छ। घरबाहिर निस्कँदा शरीरभरि धुलो हुन्छ, खकार र सिगानमा समेत धुलो मिसिएर आउन थालेको छ।"

जलविद्युत् आयोजनाहरूले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा धुलो नियन्त्रण गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा लागू नगरेको जनप्रतिनिधिहरूको गुनासो छ। धवलागिरि–४ का वडाध्यक्ष यामबहादुर घर्तीले आयोजनाहरूलाई सचेत गराइएको बताए। कात्तिकदेखि वर्षा नभएकाले सुक्खा मौसमका कारण प्रदूषण अझ भयावह बनेको हो।

केही आयोजनाले भने धुलो मार्न ट्याङ्करबाट पानी हाल्न सुरु गरेका छन्। अपर म्याग्दी–१ का प्रमुख ज्योतिकुमार केसीले सहायक ठेकेदारले सडक स्तरोन्नतिमा ढिलाइ गर्दा समस्या भएको बताए। यता, सहायक ठेकेदार दलमान पुनले भने आफ्नो जिम्मेवारी संरचना बनाउने मात्र भएको र धुलो नियन्त्रणको दायित्व आयोजनाकै भएको तर्क गरे।

अपर म्याग्दी र म्याग्दीखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर प्रदूषण नियन्त्रण गर्ने आश्वासन दिएका छन्। तर, तत्कालै प्रभावकारी कदम नचाले धुलोका कारण स्थानीयमा स्वासप्रश्वास सम्बन्धी दीर्घकालीन समस्या आउन सक्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ