arrow

सुन्तलाको विवरण सङ्कलन गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
suntala-bhandar.jpg

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ ।

व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्यालयले स्थलगत रुपमै उत्पादन र बजारीकरणसम्बन्धी विवरण सङ्कलन शुरू गरेको हो ।

तनहुँबाट वार्षिक करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले कार्यालयले सुन्तला बगैँचा अवलोकनका साथै देखिएका समस्या तथा सम्भावित समाधानका उपायबारे किसानलाई जानकारी गराइएको बताए ।

अघिल्लो वर्षको सुन्तलामा यस वर्ष सुन्तला उत्पादन वृद्धि हुने अनुमान छ । बेनीकोटका किसान दलबहादुर थापाले केही वर्षयता सुन्तलाका बोट सुक्दै जाने समस्या देखिएको बताए ।

उनका अनुसार बेनीकोटबाट यस वर्षमात्रै दुई करोड बढीको सुन्तला बिक्री भइसकेको छ । यहाँ सय भन्दा बढी कृषक सुन्तला खेतीमा आबद्ध छन् ।

कार्यालयका अनुसार अघिल्लो वर्ष जिल्लाबाट ४२ करोड ५० लाखको सुन्तला बिक्री भएको थियो । त्यतिबेला एक हजार छ सय ५७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा नाै सय ६८ हेक्टर क्षेत्रफलमा पाँच हजार आठ सय ३१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा ३० करोड बराबरको सुन्तला उत्पादन भएको थियो । त्यतिबेला तीन हजार सात सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

जिल्लाका आठ हजार छ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तारको सम्भावना छ।

कार्यालयले सुन्तलाखेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ