'जापानिज इन्सेफ्लाइटिस' का सत्र सङ्क्रमितमध्ये छ जनाको मृत्यु
जेष्ठ नागरिक उच्च जोखिममा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
678
Shares
चितवन । चितवन जिल्लाका विभिन्न अस्पतालहरूमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये ६ जनाको मृत्यु भएको छ। गत साउन महिनायता अस्पताल भर्ना भएका कुल १७ जना सङ्क्रमितमध्ये ३५ प्रतिशतभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।
जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेहरूमा भरतपुर महानगरपालिकाका दुई जना, राप्ती नगरपालिकाका दुई जना, खैरहनी र कालिका नगरपालिकाका एक–एक जना रहेका छन्। तथ्याङ्क हेर्दा यो रोगको उच्च जोखिममा जेष्ठ नागरिकहरू देखिएका छन्, जसमा मृत्यु हुनेमध्ये धेरैजसो ७० देखि ८९ वर्ष उमेर समूहका छन्। सङ्क्रमित १७ जनामध्ये १० जना महिला र ७ जना पुरुष रहेका छन्।
पछिल्लो विवरण अनुसार सङ्क्रमितमध्ये नौ जना ६० वर्षमाथिका जेष्ठ नागरिक छन् भने तीन जना १५ वर्षमुनिका बालबालिका रहेका छन्। जनस्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये १५ जनाले यो रोग विरुद्धको खोप नलगाएको पाइएको छ, जसले खोपको अभाव वा असावधानीलाई प्रस्ट्याउँछ। भौगोलिक रूपमा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी ७ जना सङ्क्रमित भेटिएका छन् भने खैरहनी, माडी, रत्ननगर, राप्ती र कालिका नगरपालिकामा पनि सङ्क्रमण फैलिएको देखिएको छ।
जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गम्भीर कीटजन्य रोग हो। यो लामखुट्टे विशेष गरी साँझ र बिहानको समयमा सक्रिय हुने, घर बाहिर टोक्न रुचाउने र सङ्क्रमित सुँगुर, बङ्गुर तथा हाँस जस्ता पशुपन्छीबाट मानिसमा रोग सार्ने गर्दछ। धानखेती र जमेको पानीमा बस्ने यो लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउन र खोप लगाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।