मन्त्री घिसिङलाई स्थानीयको घेराबन्दी: मुआब्जादेखि घुमाउने पुलसम्मका गुनासा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
798
Shares
तनहुँ। भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङलाई आइतबार तनहुँका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ भयो। जिल्लास्थित शुक्लागण्डकी, भिमाद, व्यास, भानु नगरपालिका तथा बन्दीपुर र देवघाट गाउँपालिकाका जनप्रतिनिधि एवं स्थानीयवासीले मन्त्री घिसिङलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै अलपत्र विकासे आयोजनामा बजेट विनियोजन गरी काम अगाडि बढाउन आग्रह गरेका छन्।
व्यास नगरपालिका–१३ बेलबासका स्थानीय यमबहादुर आलेले मन्त्री घिसिङ समक्ष तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १७० घरधुरीलाई मुआब्जा दिलाउन र बाढीको जोखिमबाट बचाउन पुनर्वासको व्यवस्था गर्न तत्काल माग गरे। घुमाउने पुल सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापा मगरले आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने ११ वर्षदेखि अलपत्र रहेको घुमाउने पुल निर्माण तत्काल अगाडि बढाउन ज्ञापनपत्र प्रस्तुत गरे। ११ वर्षको अवधिमा ३० प्रतिशत मात्र प्रगति भएको भन्दै मगरले यो पुल नहुँदा यस भेगका हजारौँ जनता मारमा परेको उल्लेख गरे।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पर्यटकीय नगरी बन्दीपुर बजारको सौन्दर्यताका लागि विद्युत्को भूमिगत तार विस्तार गर्नुपर्ने भन्दै मन्त्री समक्ष ध्यानाकर्षण गराए। उनले बन्दीपुर ढाडखोला घुमाउने सडकमा बजेट विनियोजन तथा पिप्लेदेखि बन्दीपुरसम्म जाने सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिदिन माग गरे। व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले मानुङकोट जाने बाटोमध्ये करिब दुई किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको भन्दै मन्त्री समक्ष मागपत्र बुझाएका थिए।
यसैगरी, देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले देवघाटका विभिन्न ठाउँमा सिँचाइ योजनाका लागि बजेटका लागि आग्रह गरे। शुक्लागण्डकीमा आयोजित कार्यक्रममा दुलेगौडा हर्कपुर मोटरमार्ग निर्माण सङ्घर्ष समितिका संयोजक राजन रिमालले विसं २०५२ मा प्रारम्भ भई लामो समयदेखि शङ्करमाली कन्स्ट्रक्सनमार्फत निर्माण कार्य अगाडि बढाए पनि हालसम्म अलपत्र रहेको दुलेगौडा हर्कपुर मोटरमार्ग निर्माण कार्य तत्काल अगाडि बढाउन मागपत्र प्रस्तुत गरे।
भिमाद नगरप्रमुख दधिराज सुवेदीले लामो समयदेखि अलपत्र रही हाल मुद्दाको क्रममा रहेको श्रृङ्गपथको विषयमा ध्यानाकर्षण गराए भने भिमाद नगरपालिका–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले सेती नदी कटानले भिमाद बजार जोखिममा रहेको जानकारी गराए।