arrow

मेस्सीले चाँडै रङ्गशाला छाडेपछि अशान्ति: सय डलर तिरेका दर्शकले गरे तोडफोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
messi-in-india.jpg

काठमाडौँ । भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सीले एक्कासि रङ्गशाला छाडेपछि आक्रोशित दर्शकले ‘ब्यारिकेड’ तोडेर मैदानमा आक्रमण गरेका छन्।

अर्जेन्टिना र इन्टर मियामीका सुपरस्टार ३८ वर्षीय मेस्सी शनिबार बिहान पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातास्थित साल्टलेक रङ्गशालामा पुगेका थिए। मेस्सीको जर्सी लगाएका र अर्जेन्टिनी झण्डा फहराउँदै खचाखच भरिएका हजारौं समर्थकले मेस्सीलाई प्रत्यक्ष धितमर्ने गरी हेर्न नपाएकोमा गुनासो व्यक्त गरेका थिए।

मेस्सीले समर्थकको आतिथ्यताका लागि हात हल्लाउँदै मैदानको वरिपरि घुमे र अपेक्षा गरिएको समयभन्दा पहिले नै स्टेडियमबाट बाहिरिएको रङ्गशालामा पुगेका दर्शकहरूले बताए।

टिकटको लागि १०० अमेरिकी डलरभन्दा बढी तिरेका निराश प्रशंसकहरूले आवेगमा रङ्गशालाका सीटहरू च्यातेका थिए र पानीका बोतलहरू ट्र्याकमा फ्याँकेका थिए भने केहीले मैदानमा प्रवेश गरी ब्यानर र पालहरू तोडफोड गरेका थिए।

३७ वर्षीय व्यवसायी नवीन चटर्जीले "मेस्सीलाई प्रत्यक्ष हेर्नु मेरा लागि खुसीको कुरा हो, सपना हो। तर, रङ्गशालाको अव्यवस्थाका कारण एक झलक हेर्ने मौका गुमाएको छु," भनेका छन्।

तोडफोड सुरु हुनुअघि मेस्सीले २१ मिटर (७० फिट) को विश्वकपमा अग्लो देखाइएको आफ्नै सालिक अनावरण गरेका थिए। उनले स्टेडियममा छोटो प्रदर्शनी खेल पनि खेल्ने अपेक्षा प्रशंसकहरूले गरेका थिए।

अर्का एक प्रशंसक अजय शाहले प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) सँग मानिसहरूले मेस्सीलाई हेर्नको लागि ‘एक महिनाको तलब’ खर्च गरेको र प्रहरी तथा सेनाका जवानले उनीसँग सेल्फी खिचेकोमा व्यवस्थापनलाई दोष दिएका छन्।

राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आफू अव्यवस्थाबाट ‘विचलित’ र ‘दुःखी’ भएको बताउँदै मेस्सी, सबै खेलप्रेमी र उनका प्रशंसकहरूसँग माफी मागेकी छन्।

मेस्सी कोलकातापछि हैदरावाद, मुम्बई र नयाँ दिल्ली जाने कार्यक्रम रहेको थियो। भारतमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको छ।

इन्टर मियामीलाई एमएलएसको उपाधि जिताउँदै मेस्सीले लगातार दोस्रो पटक यसै हप्ता ‘मेजर लिग सकर मोस्ट भ्यालुएबल प्लेयर अवार्ड’ जितेका छन्। बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व स्ट्राइकर मेस्सीले आगामी जुन–जुलाईमा उत्तर अमेरिकामा हुने विश्वकपमा अर्जेन्टिनाको रक्षापंक्तिको नेतृत्व गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ