जेन–जी सम्झौता अनुमोदन, जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
834
Shares
काठमाडौँ। सरकारले जेन–जी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच मङ्सिर २४ गते भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराएका छन्।
मन्त्री खरेलका अनुसार, सरकारले जेन–जी सम्झौता बमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ। यसअघि गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको घटनाको लागि जाँचबुझ आयोग गठन गरेको थियो। अनुमोदन गरिएको उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने र त्यसलाई अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको पनि उनले बताए।
मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालमा कार्यरत नेपाल न्याय सेवा कानून समूह राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव पुष्कर सापकोटालाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ। साथै, सरकारले समाजकल्याण परिषद्को रिक्त सदस्यसचिव पदमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।