हुम्लाका २७ मतदानस्थल अति संवेदनशील, सुरक्षा व्यवस्था कडा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
679
Shares
हुम्ला। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लाका कूल ६० मतदानस्थलमध्ये २७ वटालाई भौगोलिक विकटता र राजनीतिक विवादका कारण 'अति संवेदनशील' ठहर गरिएको छ। जिल्लामा जम्मा ६० मतदानस्थल र ६१ मतदानकेन्द्र कायम गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले दिएको जानकारीअनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २७ वटा अति संवेदनशीलबाहेक २१ वटा संवेदनशील र १० वटा सामान्य मतदानस्थल निर्धारण गरिएको छ। मुख्यगरी भौगोलिक विकटता र राजनीतिक विवादलाई आधार मानेर मतदानस्थललाई वर्गीकरण गरिएको जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताए। सोही वर्गीकरणअनुसार निर्वाचनका बेला सुरक्षा व्यवस्था गरिनेछ।
गाउँपालिका अनुसारको वर्गीकरण हेर्दा: सर्केगार्ड (१२ मतदानस्थल) मा ५ अति संवेदनशील छन् भने नाम्खा (११ मतदानस्थल) र चंखेली (८ मतदानस्थल) मा पनि ५/५ अति संवेदनशील मतदानस्थल छन्। ताँजाकोट (७ मतदानस्थल) मा पनि ५ अतिसंवेदनशील मतदानस्थल तोकिएको छ।
सदरमुकाम रहेको सिमकोट गाउँपालिकामा ९ मतदानस्थलमध्ये ४ अतिसंवेदनशील छन्। नाम्खा र चङ्खेली गाउँपालिकामा यसपटक नयाँ मतदानस्थल थपिएका छन्। मङ्सिर ५ गतेसम्मको अवधिमा हुम्लाको मतदाता सङ्ख्या ३४ हजार ५०२ छ।