arrow

बैशाखी टेकेर न्यायको खोजीमा एक जेन-जी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
rajesh-portel-genz.jpg

काठमाडौँ । इलामको सूर्योदय नगरपालिका वडा नं १० का स्थायी बासिन्दा राजेश पोर्तेल झापाको विर्तामोडमा व्यवसाय गर्छन् । केही समय अघिसम्म सुनचाँदी व्यवसायमा व्यस्त थिए । तर हिजोआज उनी फरक काममा व्यस्त छन् ।

राजनीतिमार्फत समाज परिवर्तनको अभियानमा छन् । गत भाद्र २३ र २४ गते देशभर जेन-जी आन्दोलन भयो,जहाँ धेरैले ज्यान गुमाए, धेरै अंगभंग भए र अझै केही व्यक्ति अस्पतालको वेडमा छटपटाइरहेका छन् ।

भदौ २३ गतेको जेनजी आन्दोलनबारे जानकार भए पनि राजेश सहभागी भएनन् । तर सोही दिन सरकारी दमनबाट स्कूले ड्रेसमा आन्दोलनमा आएका युवा गोलीको सिकार भए । दुई दर्जन आन्दोलनकारीको ज्यान गयो । सोही दिनको घट्नापछि आक्रोशित बनेका राजेश २४ गतेको आन्दोलनमा सहभागी भए तर विर्तामोडको प्रदर्शनमा उनको खुट्टा गुम्यो ।

व्यवसायमा नै व्यस्त रहेता पनि हिंसात्मक गतिविधिले २४ गते घरमै बसेर टुलुटुलु हेर्न उनको मनले मानेन् । अन्तत उनी २४ गतेको आन्दोलनमा होमिन पुगे । विडम्बना त्यो आन्दोलनमा उनले आफ्नो दायाँ खुट्टा नै गुमाउनुपर्यो ।

उनी भन्छन्, ‘भदौ २३ गतेको आन्दोलनमा चाँही म समावेश भएको थिइनँ तर देशमा बढेको भ्रष्टाचार र वेरोजगारीप्रति जानकार थिए । ३५ वर्ष शासन सत्ता चलाउँदा पनि परिवर्तन नआएको हामीले भोगिरहेकै थियौं । जसको फलस्वरुप जेनजी आन्दोलन हुनु अस्वभाविक थिएन ।’

उनले भने, ‘त्यो शान्तिपूर्ण आन्दोलनमा विद्यार्थी ड्रेसमा मारिए । हजारौँ घाइते भएको पनि प्रत्यक्ष देखिरहेको थिएँ । त्यस्तो क्रूर व्यवहार गर्नु र गोली हान्न निर्दयीपन थियो । त्यसकै विरुद्ध म भदौ २४ गते आन्दोलनमा सहभागी भएको थिए ।’

आन्दोलनकै क्रममा झापा विर्तामोडको ट्राफिक कार्यालय अगाडि विस्फोट हुँदा उनको खुट्टा घट्नास्थलमा नै चुडिएको थियो । उनी बीएनसी अस्पतालमा करिब १५ दिन उपचारपछि घर फर्किएका थिए । घटनापछि राजेश एउटा बन्द कोठामा सीमित हुँदै जीवनभर शारीरिक अशक्त भएर बैशाखीको सहायतमा सीमित छन् ।

आफ्नो खुट्टा गुमाउनु पर्दाको त्यो तितो पललाई अमिलो मनकासाथ सम्झिँदै उनी भन्छन्, ‘आन्दोलन शान्तिपूर्ण नै थियो । यहाँ(काठमाडौँ) मा जस्तो हुलदंगा थिएन । भीड चाहीँ बढ्दो थियो। त्यही क्रममा अचानक गोली चल्यो । म पछाडिको दाइ ढल्नुभयो । सोही क्रममा भागदौड मच्चियो । भाग्दै गर्दा गोली लागेर दुई-तीन जना ढलिसकेपछि म पनि भाग्दै र दौडिदै थिए । जताततै आगजनी र तोडफोड भइरहेको बेला केही वस्तु विस्फोट भयो र मेरो खुट्टा मैदानमै चुडियो’, उनले भने, ‘त्यसबेला म अचेत भएछु । अस्पताल पुगेर होस आएपछि मात्र खुट्टा गुमेको थाहा पाएँ ।’

जवानीमै गरिखाने खुट्टा गुमाएका राजेशले हालसम्म सरकारी सहयोग वा राहत पाएका छैनन् । अप्रेशन दुर्गा प्रसाँईले निःशुल्क गराइदिएका थिए । त्यसपश्चातको खर्चहरू सहयोग उठाएर नै गरेको उनले जानकारी दिए ।

अन्तरिम सरकार जेनजीको होइन रहेछ

आफ्नो खुट्टा गुमाउनुको पीडा राजेशसँग जति छ त्यो भन्दा दोब्बर गुनासो जेनजीकै सरकारप्रति छ । ‘यतिबेला मलाई मेरो जीवनसँग त्यति गुनासो छैन् । नावालिका छोरी र श्रीमतीको पालन पोषणको समस्या त छ तर सबैभन्दा धेरै गुनासो र आक्रोश अन्तरिम सरकारसँग छ । जेन-जीका अुगुवाहरूको गतिविधिप्रति पटक्कै चित्त बुझेको छैन् । जेनजीका माग अनुसारका कुनै पनि निर्णय हुन सकेको छैन्’, राजेशले भने, ‘जुन हाम्रा मागहरू थिए, त्यो मागहरूलाई उहाँहरूले सम्बोधन गर्नै सक्नुभएन् । जति आशा थियो त्यो अनुसारको काम नै भएन् । अगुवाहरूको भूमिका राम्रो भएन् । न हामीलाई समेटेर लानुभयो न त माग नै सम्बोधन गर्नुभयो ।’

अनि जन्मियो राष्ट्रिय परिवर्तन पार्टी

राजेश पोर्तेलले वर्तमान अन्तरिम सरकारले जेनजी आन्दोलनका घाइते र शहीद परिवारको माग सम्बोधन गर्न नसकेको भन्दै आफू राजनीतिमा सक्रिय भएको बताए । पोर्तेलको नेतृत्वमा ‘राष्ट्रिय परिवर्तन पार्टी’ निर्वाचन आयोगमा दर्ता भई उनकै नेतृत्वमा संगठन विस्तारको काम अघि बढेको छ । जेनजी साथै आम नेपालीहरूका मागपूरा गर्न आफूहरूले राजनीतिक दल स्थापना गरेको उनी बताउँछन् ।

‘हिजोको आन्दोलन किन जरुरी थियो, केका लागि थियो, त्यसको मर्म के थियो भनेर कसैले बुझेन । आन्दोलन त्यत्तिकै निस्केको होइन । हजारौँ जनताहरू सडकमा के विरुद्ध किन आएको थिएभने परिवर्तनका लागि थिए । तर जेनजीकै आन्दोलनबाट निर्माण भएको सरकार आन्दोलनकारीहरूका लागि रहेन् । त्यसैले हामीले राजनीतिक दल खोल्न बाध्य भयौँ,’ उनले भने, ‘अहिले हामीले पार्टी खोल्नु, दल दर्ता गर्नुको कारण पनि परिवर्तनका लागि हो । बढ्दो भ्रष्टाचार, नातावाद विरुद्ध हो ।’

उनको अनुसार पार्टीको मुख्य एजेण्डा भनेको नै जेनजी पुस्ताको मागहरू पूरा गर्नु हो । ‘हाम्रा एजेन्डाहरू भनेको जुन जेनजी पुस्ताले मागहरू राखेका थिए, त्यो पूरा गर्नका लागि हो । जेनजीले बनाएको सरकारले उल्टै जेनजीलाई धरपकड एवं पक्राउ गर्न थाल्यो । दोषीहरूलाई खुलेआम छाडिदियो । घाइते र शहीदहरूलाई न्याय दिन्छ भन्ने आशा नै निराशामा बद्लिदियो । त्यसैले हामी आम नेपालीहरूको न्यायका लागि दल दर्ता गरेर राजनीतिमा आएका हौं,’ उनले भने ।
घाइते शरीर लिएर भए पनि अब न्यायका लागि चुनावमा लड्ने घोषणा पनि उनले गरे । उनका अनुसार आउँदो मंसिर २७ गते झापाको दमकमा एक बृहत आम भेला गरेर आफ्ना प्रतिवद्धताहरू सार्वजनिक गर्ने पनि बताए ।

संगठन विस्तारको योजना

राष्ट्रिय परिवर्तन पार्टीले देशभर संगठन विस्तारलाई तीब्र बनाएको पनि उनले बताए । शून्य भ्रष्टाचार, इमान्दार राजनीति, पारदर्शी व्यवहारका लागि युवाहरूको साथ लिएर संगठन विस्तारको काम अघि बढेको उनले जानकारी दिए । ‘यतिबेला हामी संगठन विस्तारको प्रारम्भिक चरणमा छौँ । नयाँ साथीहरूलाई महत्वपूर्ण जिम्मेवारी दिएर काम गर्ने सोचमा छौँ । यही मंसिर २७ गतेका दिन दमकको आदिवासी रंगशालामा एउटा बृहत् आम भेला गर्ने निर्णय गरेका छौँ । सोही दिनबाट हामी देशव्यापी अभियानमा हुनेछौँ,’ उनले भावी योजना सुनाए ।

राष्ट्रिय परिवर्तन पार्टीसँग जेन-जी युनाइटेडदेखि लिएर विभिन्न समूहहरू जोडिनेक्रमा रहेको सुनाउँदै उनले पूर्व-पश्चिम संगठन विस्तारका लागि सयौँ व्यक्तिहरूसँग संवाद भइरहेको उनले बताए । घाइते शरीर लिएरै संगठन विस्तारमा घर घरमा पुग्ने उनले प्रतिवद्धता जनाए । ‘हामी अब कसैलाई भरोसा गर्नेवाला छैनौँ, आफ्ना मागहरू आँफै पूरा गर्न चाहन्छौँ । चुनावमा भाग लिन्छौँ र सरकारमा प्रतिनिधित्व गरेर जनताका मागहरू पूरा गर्नेछौँ,’ उनले भने ।

पूराना पार्टीहरूलाई अपमान गर्दैनौँ

हुन त पूराना भनिएका पार्टीहरूले जति गर्नुपर्ने थियो गर्न नसकेको उनको बुझाइ छ । ‘काम नै गरेनन् भनेर त भन्दैनौँ । जिरो योगदान थियो भनेर भन्न सकिदैन । केही काममा परिवर्तन अवश्य ल्याउनुभएको हो । तर प्रबृत्ति र व्यवहार सच्याउन सक्नु भएन । सबै नराम्रो मात्रै भन्न मिल्दैन । तर यत्रो वर्षमा गरेको परिवर्तन चित्तबुझ्दो भएन,’ उनले भने, ‘विश्वका सयौँ देशहरू कहाँ पुगिसके । विकासको फड्को मारेर कति अगाडि पुगिसके । अहिले हाम्रो देशको अवस्था हेर्नुभयो भने तुइन तरेर विद्यालय जानुपरिरहेको छ ।’

उनले आफू हाल पार्टी अध्यक्ष भए पनि निकट भविष्यमै युवा पुस्तालाई पद हस्तान्तरण गर्न तयार रहेको बताए । ‘म शरीरको यस्तो अवस्था लिएर किन हिँडिरहेको छु भने युवाहरूलाई प्रोत्साहित गर्नलाई हो । युवाहरूलाई राजनीतिमा आकर्षित गर्न र देशको नेतृत्व युवा पुस्ताको काँधमा होस भन्नका लागि हो । सँगसँगै अघि बढौँ र देश परिवर्तन गरौँ भन्नका लागि हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ