arrow

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज, दुई हजार बढी विद्यार्थी दीक्षित हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
kathmandu-university.jpg

काठमाडौँ। काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोह आज हुँदैछ। पहिलो चरणको यस समारोहमा कूल दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन्, जसमा १७ देशका १९६ विदेशी विद्यार्थी समावेश छन्।

समारोह प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुनेछ, जहाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत सहभागी हुनेछन्। काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्ले ले दिएको जानकारीअनुसार, नयाँदिल्लीस्थित जवाहरलाल–नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डितले प्रमुख आतिथ्यतासहित दीक्षान्त मन्तव्य दिने कार्यक्रम तय भएको छ।

यसपटक दीक्षित हुने कूल २,२०९ विद्यार्थीमध्ये स्कुल अफ मेडिकल साइन्सेजका सर्वाधिक ८८१ जना, स्कुल अफ म्यानेजमेन्टका ३७८, स्कुल अफ इञ्जिनियरिङका ३४०, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ साइन्सका १९७, स्कुल अफ आर्टस्का ८३ र स्कुल अफ लका ३६ जना रहेका छन्। 

दीक्षितमध्ये विद्यावारिधी, डिएम र एमसिएच तहका सात, स्नातकोत्तर तहका ३९७, पिजिडी तहका ५० र स्नातक तहका एक हजार ७२८ जना रहेका छन्।दीक्षित हुने विदेशी विद्यार्थीहरू अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भुटान, भारतलगायत १७ देशका रहेका छन्। 

३१औँ दीक्षान्तको पहिलो चरणसम्म काठमाडौँ विश्वविद्यालयबाट दीक्षित हुनेको कूल सङ्ख्या ५० हजार ४० जना पुगेको छ, जसमध्ये करिब १२% अर्थात् ५,८६० जना विदेशी विद्यार्थी रहेका छन्। दीक्षित विदेशी विद्यार्थीमध्ये सबैभन्दा बढी भारतका ४ हजार ९७६ विद्यार्थी रहेका छन्। उपकुलपति वाग्लेका अनुसार, हालसम्म विविध विधामा कूल ५८ देशका विद्यार्थी केयुबाट दीक्षित भएका छन्। समारोहमा विभिन्न पदकसमेत प्रदान गरिने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ