arrow

सरकारले बढायो उखुको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
ukhu-katani.jpg

महोत्तरी । सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ । तर महोत्तरीका उखु किसानले भने सरकारले आफूहरूको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएको उल्लेख गर्दै चित्त बुझाएका छन् ।

‘हाम्रो त खेतीमा बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्य वृद्धि हेरेर प्रतिक्विन्टल सात सय ५० रुपैयाँ पाउनुपर्छ भन्ने थियो, तर सरकारले मूल्य र अनुदान निर्धारणमा छ सय ९० रुपैयाँ मात्रै निर्धारण गरिदियो’, उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने, ।

उनका अनुसार मूल्य र अनुदानसमेत गर्दा गत वर्षभन्दा प्रतिक्विन्टल ७० रुपैयाँले बढेको छ।

सरकारले सोमबार चिनी उद्योगले दिने मूल्य प्रतिक्विन्टल छ सय २० र सरकारले दिने अनुदान ७० रुपैयाँ गरी जम्मा प्रतिक्विन्टल छ सय ९० रुपैयाँ निर्धारण गरेको छ ।

यतिबेला खुट्टी उखु (दोस्रो वर्षको बाली) चाँडै काटेर अन्य फसल समयमै लगाउन पर्ने दबाबले किसान अब चाँडै उद्योग सञ्चालन पर्खेर बसेका छन् ।

‘अहिले हामीसँग मूल्यमा चित्त दुखाएर सरकारसँग निहुँ खोज्ने समय छैन, अब खुट्टी उखु काट्न ढिलाइ भए खेतबारी छ महिना बाँझै बस्ने चिन्ता छ’, भङ्गाहा-४ का किसान अरुण गिरीले भने, ‘अब चाँडै उद्योग सञ्चालन होस् भन्ने हतारो छ ।’

एकपटक लगाएर दुई वर्ष बाली लिन पाइने उखुको पहिलो वर्षको फसललाई ‘मुडन’ र दोस्रो वर्षको लाई ‘खुट्टी’ भनिन्छ ।

खुट्टी उखु काटेर पुस तेस्रो साताभित्र अन्य बाली लगाइ सक्नुपर्ने समयको दबाबमा अहिले आफूहरू रहेको गिरीको भनाइ छ ।

पुस तेस्रो साताभित्र अर्को बाली नलागे असारसम्म पर्खन पर्ने किसानको भनाइ छ ।

‘अहिले बाली लगाउन नपाए खेतबारी रुखिन्छ, अनि जेठ-असारमा पर्ने पानी पर्खन पर्ने हुन्छ’, बर्दिवास-९ पशुपतिनगरका किसान रामविनोद महतोले भने, ‘यसैले अहिले खुट्टी उखु काट्ने हतारो परेको हो ।’

उखु किसान र यिनका प्रतिनिधिसंस्था उखु उत्पादक कृषक सङ्घ, उखु उत्पादक किसान महासङ्घले प्रत्येक वर्ष उखुको मूल्य निर्धारण कात्तिक मसान्तभित्र गरिसक्नुपर्ने र मङ्सिर दोस्रो साताभित्रै खुट्टी उखुको क्रसिङ खोल्नुपर्ने माग राख्दै आएका छन् ।

सरकारले सधैँजसो किसानलाई मूल्य मान्न बाध्य हुने बेला पारेर मूल्य निर्धारण गर्ने गरेको बर्दिवास-१२ बिजलपुराका किसान विश्वनाथ सिंहले बताए ।

‘सरकारले यसपालि उखुको मूल्य प्रतिक्विन्टल ३५ रुपैयाँ बढ्यो । अनुदान ७० रुपैयाँ दिने घोषणा गर्‍याे’, उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष कुशवाहाले भने, ‘गत वर्षभन्दा यो निकै राम्रो हो ।’

गतवर्ष उखुको मूल्य पाँच सय ८५ प्रतिक्विन्टल र अनुदान ३५ रुपैयाँ मात्र थियो ।

जिल्लाको गौशाला-१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज अझै सञ्चालनको सुरसारमा नहुँदा खुट्टी उखु काट्ने बेला घर्किन लागेको किसानको चिन्ता छ ।

उद्योगले अब मूल्य निर्धारणको पाटो टुङ्गिएको हुँदा चाँडै क्रसिङ थाल्ने तयारी गरिएको जनाएको छ ।

यसपालि क्रसिङ खोल्नुअघिको डोला पूजा (उपकरण पूजा) यही मङ्सिरभित्रै सम्पन्न गरेर पुस पहिलो साता क्रसिङ खोल्ने  तयारी रहेको उद्योगले जनाएको छ ।

गत वर्ष मङ्सिर २६ गते नै उखु क्रसिङ थालेको उद्योगले यसपालि भने ढिलो गरेको छ ।

जिल्लामा यसपालि नौ हजार ६०० बिघामा उखुखेती गरिएको छ ।

जसमध्ये पाँच हजार बिघाको खुट्टी र चार हजार ६०० बिघाको मुडन रहेको उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष कुशवाहाले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ