ट्रम्पको आलोचनापछि जेलेन्स्की र युरोपेली सहयोगीहरूबीच लण्डनमा महत्त्वपूर्ण वार्ता
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
1.8k
Shares
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले नपढेको आरोप लगाएपछि युक्रेनी नेता र युरोपेली सहयोगीहरूले सोमबार लण्डनमा महत्त्वपूर्ण वार्ता गरेका छन्।
मियामीमा अमेरिकी र युक्रेनी अधिकारीहरूबीच भएको पछिल्लो वार्ता स्पष्ट सहमतिविना सकिएपछि यो छलफल भएको हो। सोमबार वार्तासँग परिचित एक अधिकारीले एएफपीसँग भने, करिब चार वर्ष लामो रूस–युक्रेन युद्ध अन्त्य गर्ने वार्तामा ‘क्षेत्र अझै पनि सबैभन्दा समस्याग्रस्त मुद्दा’ रहेको छ।
राष्ट्रपति जेलेन्स्कीलाई लण्डनमा बेलायती प्रधानमन्त्री केइर स्टार्मर, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले स्वागत गरेका छन्।
बेलायती प्रधानमन्त्री स्टार्मरले भने, जेलेन्स्कीलाई ट्रम्प प्रशासनको नेतृत्वमा सम्झौता स्वीकार गर्न दबाब दिइने छैन। स्टार्मरले आईटिभी न्यूजसँग भने:
“सबैभन्दा महत्त्वपूर्ण कुरा यो सुनिश्चित गर्नु हो कि यदि शत्रुताको अन्त्य हुन्छ भने, यो न्यायपूर्ण हुनुपर्दछ र यो स्थायी हुनुपर्दछ, हामी आज दिउँसो छलफलमा केन्द्रित हुनेछौँ।”
ट्रम्पले आइतबार एक पत्रकार सम्मेलनमा "राष्ट्रपति जेलेन्स्कीले अझै प्रस्ताव नपढेकोमा म अलि निराश छु" भन्दै युक्रेनी समकक्षीको आलोचना गरेका थिए।
अमेरिकी दूत स्टिभ विटकोफ र जारेड कुश्नरले गत हप्ता क्रेमलिनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए। वासिङ्गटनको प्रारम्भिक योजनामा रुसले युद्धको मैदानमा जितेको भूमि पनि सुरक्षा प्रतिज्ञाहरूको बदलामा त्याग्नु (आत्मसमर्पण गर्नु) समावेश छ, जुन कियभको नाटोमा सामेल हुने आकाङ्क्षाभन्दा कम छ।
वार्ताबारे जानकार अधिकारीहरूका अनुसार, अमेरिकीहरूले युद्धविराम र शान्ति योजना ‘तत्काल’ गर्नुपर्ने जस्ता दबाब दिइरहेका छन् तर युक्रेन र उसका युरोपेली सहयोगीहरू सार्वभौमिकतामाथि आँच आउने प्रस्तावमा सहमत हुन नसक्ने बताउँदै आएका छन्।
फ्रान्सका राष्ट्रपति म्याक्रोँले सोमबारको वार्ताअघि रूसको ‘बढ्दो प्रभाव’ को आलोचना गर्दै युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्न अमेरिकीहरूसँग प्रयास जारी राख्ने बताएका छन्।
जेलेन्स्कीले भने, युक्रेन वास्तविक शान्ति ल्याउनका लागि अमेरिकी पक्षसँग ‘इमान्दारीपूर्वक काम गर्न प्रतिबद्ध’ रहेको र मियामी वार्ता 'धेरै ठोस र रचनात्मक' रहेको बताएका छन्। यसैबीच, युक्रेनी अधिकारीहरूका अनुसार मस्कोले आफ्नो छिमेकीमाथि आक्रमण जारी राखेको छ, जसमा आइतबारदेखि सोमबारसम्म कम्तिमा नौ जना घाइते भएका छन्।