ट्रम्पको एआई रणनीति: अमेरिकी प्रभुत्वका लागि 'एउटै नियम पुस्तिका', राज्यको नियमन अधिकार कटौती
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
1.7k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योगको नियमन गर्ने अधिकार राज्यहरूलाई नदिने कडा घोषणा गरेका छन्। अमेरिकी प्रभुत्वलाई विश्वव्यापी रूपमा कायम राख्नका लागि केन्द्रीकृत नियम निर्माण महत्त्वपूर्ण रहेको तर्क गर्दै उनले एआई नियमन केन्द्रीकृत गर्ने कार्यकारी आदेश यसै हप्ता जारी गर्ने बताएका छन्।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै भनेका छन्: "यदि हामी एआईको नेतृत्व गर्न चाहन्छौँ भने त्यहाँ केवल एक नियमन पुस्तिका हुनुपर्दछ।"
उनका अनुसार यो कदम अमेरिकालाई एआई उपकरण निर्माण र नियन्त्रण गर्ने विश्वव्यापी दौडमा शीर्ष स्थानमा उभ्याउनका लागि आवश्यक छ। एआईले अर्थव्यवस्थादेखि सैन्य प्रविधिसम्म सबै कुरा रूपान्तरण गर्ने भविष्यवाणी गरिएको छ।
ट्रम्पले चेतावनी दिँदै भनेका छन्: "हामी दौडको यस बिन्दुमा सबै देशहरूलाई हराइरहेका छौँ तर यदि हामीसँग नियमनका लागि ५० राज्यहरूलाई नै अधिकार दिइयो भने यो लामो समय टिक्ने छैन। एआई यसको शैशवकालमा नष्ट हुनेछ! म यसै हप्ता एक नियम कार्यकारी आदेश गर्नेछु।"
ट्रम्पको यो घोषणा अमेरिकी संसद् (कङ्ग्रेस) ले एआईमा राज्य–स्तरीय कानूनलाई निर्णय गर्न अनुमति दिन दुई पटक मतदान गर्न अस्वीकार गरेपछि आएको हो।
गुगलका कार्यकारी प्रमुख सुन्दर पिचाईले पनि चीनजस्ता द्रुत गतिमा अघि बढिरहेका देशहरूसँग प्रतिस्पर्धा गर्नका लागि विविध नियमहरूको सामना गर्नु चुनौतीपूर्ण हुने बताएका थिए।
यो आदेशले थप राजनीतिक विरोध र कानुनी चुनौतीहरू निम्त्याउने सम्भावना छ। यसको मस्यौदा आदेशले राज्य एआई कानूनलाई चुनौती दिन कार्यदल सिर्जना गर्ने र एआई कानून भएका राज्यहरूको लागि निश्चित कोषलाई सीमित गर्ने प्रस्ताव गरेको थियो। हाल अमेरिकाका राज्य विधायिकाहरू मार्फत एक हजारभन्दा बढी एआई–सम्बन्धित बिलहरू अघि बढिरहेको जनाइएको छ।