समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
सरकारबाट पूर्ण बजेट र कानुनी सहयोगको प्रतिबद्धता
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
678
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र पार्दै निर्वाचन आयोगले सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।
आयोगको कार्यालय परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आयोगका सचिव महादेव पन्थ लाई समानुपातिकतर्फको निर्वाचन अधिकृत र सहसचिव यज्ञप्रसाद भट्टराईलाई सहायक निर्वाचन अधिकृत तोकिएको छ। यो व्यवस्थापनका लागि कूल ४१ जना कर्मचारी कार्यरत रहनेछन्। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था रहेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक निर्वाचनका सबै कार्य यस कार्यालयबाट हुने र सूत्रात्मक पद्धतिबाट जातीय, भौगोलिक, लैङ्गिकलगायत समूह छुट्याएर प्रतिनिधि चयन गरिने भएकाले यो व्यवस्थाले सबै सरोकारवालालाई सहज हुने विश्वास व्यक्त गरे।
यसैबीच, सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री अनिलकुमार सिन्हाले निर्वाचन आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग निर्वाचनको पूर्वतयारीबारे छलफल गरे। छलफलमा अर्थमन्त्री खनालले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे भने कानुनमन्त्री सिन्हाले आवश्यक कानुनी सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाए। कानुनमन्त्री सिन्हाले निर्वाचन सम्पन्न गर्ने कार्यमा स्वदेशी वस्तु र उत्पादनको प्रयोग गर्न आयोगलाई अनुरोधसमेत गरे।
आयोगका प्रवक्ता भट्टराईका अनुसार, यो छलफलबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न थप मद्दत पुगेको छ।