माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनाको प्रगति ३० प्रतिशत
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
636
Shares
म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ ।
अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युतगृह निर्माण कार्यले तीब्रता पाएको छ ।
आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार एक वर्षको अवधिमा ३० दशमलव ९४ प्रतिशत भौतिक र ३० दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको छ ।
“चार ठाउँबाट सुरुङ खन्ने काम भैरहेको छ,” उनले भने, “विस २०८३ फागुन भित्र विद्युत् उत्पादन शुरू गर्ने लक्ष्यअनुसार विद्युत्गृह र बाँध निर्माण कार्यलाई पनि तीब्रता दिएका छौँ ।”
कुल पाँच हजार सात सय ८९ दशमलव ७१ मिटर लामो सुरुङ हालसम्म दुई हजार तीन सय ६० मिटर निर्माण सकिएको छ ।
विसं जेठ ८ गते शुरु भएको बाँध निर्माणस्थलमा ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।
करिब दुई हप्तामा विद्युतगृहको उत्खनन् कार्य सकेर संरचना निर्माणको तयारी भएको छ ।
विसं २०८० चैत १९ मा सम्झौता गरेको सिभिल ठेकेदार लुना विल्डर्स एण्ड कन्ट्र्याक्टरले २०८१ जेठ ८ गते परिचालित भएको थियो ।
धवलागिरी गाउँपालिका-४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भएरहेको छ ।
बाँध निर्माण स्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीन ओटा पानी थिग्राउने पोखरी निर्माणाधीन छ ।
मेकानिकल र इलेक्ट्रो-मेकानिकल कार्यको लागि निर्माण कम्पनी छनोट भएको छ ।
रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटबाट विद्युतगृहको उँचाइ एक सय ९६ मिटर छ ।
आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ ।
ऊर्जा इन्जिनियरीङ एण्ड म्यानेजमेन्ट सोलुसनले परामर्शदाता रहेको यस आयोजनाको प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आवद्ध छ ।
विद्युतगृहतबाट मालिका गाउँपालिका-७ डाडाखेतमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको सबस्टेशन जोड्ने एक सय ३२ केभी क्षमताको एक दशमलव पाँच किलोमिटर प्रशारण लाइनको अध्ययन भइरहेको छ ।
सानीमा बैङ्कको नेतृत्वमा छ ओटा बैङ्कको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने रु ११ अर्ब २३ करोड २७ लाख छ हजारको लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका-७ भारवाङमा रहनेछ ।
यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ ।
भारवाङबाट बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि रु छ करोड २० लाख बजेट बिनियोजन गरेको छ ।
हालसम्मको प्रगतिअनुसार निर्धारित समय तालिका भित्रै सम्पन्न हुनेमा विश्वस्त रहेको आयोजना प्रमुख केसीले बताए । रासस