काठमाडौँ। रुसी उप विदेशमन्त्री सेर्गेइ र्याबकोभले आइतबार रुस भेनेजुएलाको वर्तमान नेतृत्वको पक्षमा उभिएको र अमेरिकी सरकारलाई काराकास (भेनेजुएलाको राजधानी) सँग पूर्ण द्वन्द्व नगर्न आग्रह गरेको बताएका छन्।
उनले भेनेजुएलामा ‘तनाव उच्च रहेको र बढ्दै गएको’ उल्लेख गर्दै मस्कोले पछिल्ला घटनाक्रमलाई गहिरो चासोका साथ हेरेको जानकारी दिए। र्याबकोभले भेनेजुएला विवादलाई यस क्षेत्रमा ‘निर्विवाद प्रभुत्व कायम गर्ने वाशिङ्गटनको चाहना’ सँग जोड्दै यसलाई ट्रम्प प्रशासनको विशेषता भएको बताएका छन्।
दुई देशबीच हालै सम्पन्न रणनीतिक साझेदारी र सहयोगसम्बन्धी सम्झौतालाई उद्धृत गर्दै र्याबकोभले रुसले भेनेजुएलासँग बलियो ऐक्यबद्धता कायम राखेको बताए। उनले भने "हामी भेनेजुएलालाई समर्थन गर्दछौँ, त्यसरी नै यसले हामीलाई समर्थन गर्दछ। यो कठिन समयमा हामी काराकास र उसको नेतृत्वसँग काँधमा काँध मिलाएर उभिएका छौँ।"
यसैबीच, अमेरिकाले क्यारेबियन सागरमा आफ्नो सैन्य उपस्थिति बढाएको छ। पेन्टागनले सेप्टेम्बर २ यता क्यारेबियन र पूर्वी प्रशान्त महासागरमा कथित लागुऔषध जहाजहरूमा कम्तिमा २२ पटक आक्रमण गरेको छ, जसमा ८७ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।