चार लाख ६५ हजार मेट्रिक टन मल आयातको बोलपत्र,साढे पाँच लाख टनको लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
864
Shares
काठमाडौँ। सरकारले चालु आर्थिक वर्ष (आव) मा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य निर्धारण गरेको छ, जसका लागि रु २८ अर्ब ८२ करोड बराबरको बजेट विनियोजन गरिएको छ। यसै सन्दर्भमा, सरकारले हालसम्म ४ लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको स्पष्ट पारेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार, यही मंसिर महिनाको दोस्रो सातासम्म २ लाख ६६ हजार ५ सय १० मेट्रिक टन रासायनिक मल आपूर्तिको क्रममा छ। यसमध्ये कृषि सामग्री कम्पनीले १ लाख ८० हजार ४ सय ९१ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनले ८६ हजार १६ मेट्रिक टन मल आयात गरिरहेका छन्।
कृषि सामग्री कम्पनीले ८८ हजार २ सय १३ मेट्रिक टन युरिया र ९२ हजार २ सय ७८ मेट्रिक टन डीएपी मल आयात गरिरहेको छ। साल्ट ट्रेडिङ कर्पोरेशनले भने २४ हजार ४ सय ९८ मेट्रिक टन युरिया, ५३ हजार ७ सय ९५ मेट्रिक टन डीएपी र ७ हजार ७ सय २५ मेट्रिकटन पोटास आयातको क्रममा रहेको जनाएको छ।
हाल कूल ८६ हजार ३ सय ३३ मेट्रिक टन रासायनिक मल गोदाममा मौज्दात छ। यसमध्ये कृषि सामग्री कम्पनीमा ५७ हजार ८ सय १८ मेट्रिकटन र साल्ट ट्रेडिङ कर्पोरेशनमा २८ हजार ५ सय १४ मेट्रिक टन उपलब्ध छ। यस्तै, १ लाख २० हजार ५ सय ९७ मेट्रिकटन रासायनिक मल बाह्य मुलुकका विभिन्न मार्गबाट आयातको क्रममा रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले खेतीपातीका लागि सहज रूपमा रासायनिक मल उपलब्ध गराउन सबै प्रकारका उपाय अवलम्बन गरिएको स्पष्ट पारेको छ।