रामेछाप । मन्थली नगरपालिका वडा नं ७ भटौलीका ४० वर्षीय दिलबहादुर अछामीलाई धेरैले ‘सामाजिक विषय पढाउने शिक्षक’ भनेर चिन्छन् ।
तर उनको वास्तविक पहिचान अब कक्षा कोठामा मात्र सीमित छैन । उनी स्थानीय किसानलाई सम्भावनाको नयाँ बाटो देखाउने प्रेरणाका स्रोत पनि बनेका छन् ।
मन्थली नगरपालिका-९ पुरागाउँस्थित स्थानापति माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका अछामीले विद्यालयबाट बचेको समयलाई कृषिमा खर्च गरेका छन् । उनले शुरू गरेको ड्रयागन फ्रुट खेती अहिले नमूना बगैँचा बनेको छ ।
कहिल्यै पानी नपुग्ने, चर्को घाम, सधैँ सुक्खा, भटौली गाउँको भूगोल नै त्यस्तो छ ।
यस्तो ठाउँमा व्यावसायिक फलफूल खेती सम्भव हुन्छ भन्ने कल्पना धेरैको थिएन तर अछामीले एक सय पोलमा चार सय ड्रायगनका बोट रोपे, त्यससँगै आँप, कागती, अनार, कुरिलो, भूइँकटहर, केरा जस्ता बोटबिरुवा थप्दै बारीलाई बिस्तारै ‘हरियाली’ मा बदल्न थाले ।
पहिलो वर्ष उत्पादन मनासिब नभए पनि दोस्रो वर्षले मेहनतको रङ्ग देखायो ।
करिब नौ सय किलो ड्रायगन फ्रुट प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री हुँदा दुई लाख ७० हजार रुपैयाँभन्दा बढी आम्दानी भयो । अन्य फलफूलबाट आउने आर्थिक लाभ थपिएको छ अलगै ।
‘पानीको अभाव छ, खेती नराम्रो हुन्छ भन्थे तर निरन्तरता र लगन भए खेतीमै भविष्य छ भन्ने मलाई दोस्रो वर्षमै थाहा भयो’, अछामी भन्छन्।
गाउँमै बसेर स्वरोजगार बन्ने आफ्नो यात्रा ‘सुख्खाग्रस्त गाउँ पनि कत्तिको सम्भावनायुक्त रहेछ’ भन्ने कथन बनेको उनी बताउँछन् ।
आज अछामीको बगैँचा २५ भन्दा बढी जातका आँप, मौरी पालन, फलफूल तथा तरकारीसहित बहुउपयोगी कृषि फार्म जस्तै बनेको छ। यही फार्म अहिले उनको परिवारको मूल आम्दानीको आधार बनेको छ।
शिक्षक अछामी मात्र होइन, उनकी जीवनसाथी सरिताकुमारी रम्तेल पनि बगैँचा बढाउने मुख्य पात्र हुन् ।
श्रीमानले सिकेका सीपलाई व्यवहारमा उतार्ने दैनिक भूमिकामा सरिता अडिग छन् ।
गाउँमा पानीको अभाव, गोठालोको समस्या, फलफूल जोगाउने चुनौती, सबै सामना गर्दै उनले ‘कृषि सम्भव छ’ भन्ने प्रमाण खडा गरिन् ।
‘राम्रो योजना, निरन्तर मिहिनेत र आवश्यक ज्ञान भए गाउँमै बसेर पनि आत्मनिर्भर हुन सकिन्छ’, सरिता भन्छिन्।
आज भटौलीमा युवादेखि स्थानीय किसानसम्मले अछामी दम्पत्तिको बगैँचा हेर्न आउनेक्रम बढेको छ । कसरी सुक्खा क्षेत्रमै ड्रायगन सफल हुन्छ? के कति लगानी चाहिन्छ? पानी नहुँदा कसरी व्यवस्थापन गर्ने ? यस्ता प्रश्नका उत्तर खोज्दै आउनेहरूको भीड नै उनको प्रेरणादायी यात्राको प्रमाण बनेको छ ।
शिक्षक भएर पनि कृषि सीपमा समय दिने र व्यावसायिक सफलता हासिल गर्न सफल अछामी भन्छन्, ‘गाउँमा बसेर पनि अवसर खोज्न सकिन्छ, मुख्य कुरा जागरूकता, सीप र निरन्तरता हो ।’