arrow

मोदी–पुटिन भेटमा रणनीतिक साझेदारीको नयाँ चरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
modi-putin-25-12-4ppp.jpg

नयाँदिल्ली । चार वर्षपछि भारतीय भूमिमा पुनः भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको आजको अन्तरक्रिया कूटनीतिक औपचारिकता मान नभई, बदलिँदो विश्व व्यवस्थाबीच पुरानो मित्रताको पुनःमापन गर्ने महत्त्वपूर्ण क्षण मानिएको छ । 

सन् २०२१ डिसेम्बर पछि पहिलोपटक भारत आएका राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री मोदीले व्यक्तिगत रूपमा स्वागत गरे । दुवै नेताले एउटै कारमा यात्रा गर्दै लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको निवाससम्म पुगे ।

प्रधानमन्त्रीले रुसी अतिथिलाई रुसी भाषामा अनुदित पवित्र भगवद् गीताको प्रतिलिपि उपहार दिँदै यस शास्त्रले विश्वभरका लाखौँ मानिसलाई प्रेरित गर्ने बताए । पालम विमानस्थलमा प्रधानमन्त्रीले पुटिनलाई आलिङ्गन गर्दै स्वागत गर्दा परम्परागत नृत्यगानले वातावरण झन् उत्साहपूर्ण बनेको थियो । 

प्रधानमन्त्री मोदीले एक्समा भारत–रुस मित्रतालाई ‘समय–परीक्षित’ भन्दै राष्ट्रपति पुटिनलाई पुनः स्वागत गर्न पाउँदा खुशी रहेको उल्लेख गरे । 

राष्ट्रपति पुटिन आजसम्म भारतमा रहने छन् । यसै क्रममा २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीसँग विस्तृत वार्तामा बस्नेछन्ु । 

त्यसअघि उनले राष्ट्रपति भवनमा औपचारिक स्वागत, त्रिसेवा गार्ड अफ अनर ग्रहण गर्ने र राजघाटमा महात्मा गान्धीको स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । हैदराबाद हाउसमा दुवै नेताको सीमित र विस्तारित वार्ता हुनेछ ।

पूर्व कूटनीतिज्ञ अरुण सिंहले भारत–रुस सम्बन्ध राजनीतिक समर्थन, रक्षा सहयोग र परम्परागत विश्वासमा आधारित भएकाले पुटिनको यो भ्रमण अत्यन्त महत्त्वपूर्ण रहेको टिप्पणी गरे । उनका अनुसार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा रुसले भारतलाई दिएको निरन्तर समर्थनले दुवै मुलुकबीचको स्थायी साझेदारीलाई अझ मजबुत बनाएको छ ।

भारत प्रस्थान गर्नुअघि दिएको अन्तर्वार्तामा राष्ट्रपति पुटिनले प्रधानमन्त्री मोदीको अडिग नेतृत्व, स्पष्ट दृष्टिकोण र बाह्य दबाब नमान्ने क्षमताको प्रशंसा गर्दै भारतलाई प्रमुख विश्व शक्ति भएको उल्लेख गरे । उनले मोदीसँगको सम्बन्धलाई व्यावसायिक र व्यक्तिगत दुवै स्तरमा विश्वास र दीर्घकालीन सहयोगमा आधारित रहेको बताए । युक्रेन द्वन्द्व आरम्भ भएदेखि पुटिनको यो पहिलो विदेश यात्रा भएकोले यस भ्रमणलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विशेष ध्यानका साथ हेरिएको छ ।

दुवै देशबीच व्यापार, रक्षा, विज्ञान–प्रविधि, कृषि, शिक्षा तथा सांस्कृतिक तथा मानवीय क्षेत्रमा सहयोग विस्तारबारे धेरै सम्झौता हुने अपेक्षा गरिएको छ । 

क्रेमलिन र भारतीय विदेश मन्त्रालय दुवैले पुटिनको भ्रमणले विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्ने, द्विपक्षीय प्रगतिमाथि समीक्षा गर्ने र विश्व तथा क्षेत्रीय मुद्दामा आपसी धारणा आदानप्रदान गर्ने अवसर प्रदान गर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ