साढे तीन अर्बको अन्नबाली नोक्सानी, बाढी बीमाले किसानलाई दियो ठूलो राहत [भिडियो]
बर्दिया र कैलालीमा 'सूचकांकमा आधारित बाढी बीमा' प्रभावकारी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
858
Shares
काठमाडौँ। पछिल्ला वर्षहरूमा मनसुनमा हुने भारी वर्षाले कृषि क्षेत्रमा ठूलो नोक्सानी पुर्याउँदै आएको छ, जसमध्ये थन्क्याउन ठिक्क भएको धानबालीमा सबैभन्दा बढी क्षति भइरहेको छ। यही आर्थिक वर्षमा मनसुन सकिन लाग्दा असोज १७, १८ र १९ गते देशभर परेको वर्षाका कारण मुलुकभर साढे ३ अर्ब रुपैयाँ बराबरको अन्नबाली (धान, तरकारी, उखु तथा माछापोखरी) नोक्सानी भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ। सरकारसँग भएको अन्नबाली तथा पशुपंक्षी बीमा योजनाले किसानको बालीमा भएको क्षतिको ९० प्रतिशतसम्म क्षति बहन गर्ने व्यवस्था छ।
यद्यपि, सबै किसान बीमामा आबद्ध नभए पनि बर्दिया र कैलालीको कर्णाली नदी तटीय क्षेत्रमा लागू गरिएको सूचकांकमा आधारित बाढी बीमा योजना बाट किसानहरूले ठूलो राहत महसुस गरेका छन्। राजापुरका किसान बनिया थारुले बीमाबाट क्षतिको जोखिम हस्तान्तरण गर्न पाएपछि ढुक्क भएको र खुसी लागेको बताएका छन्। कैलालीका किसान गोविन्दराज रावतले पनि बीमा कम्पनीले यस वर्ष बीमा रकममा ५० प्रतिशत अनुदान दिएपछि आफूहरूलाई थप राहत भएको बताएका छन्।
टिकापुर, मधुवन, गेरुवा र जानकी गाउँपालिकाले बाढी बीमालाई नीति नै बनाएर लागू गरेका छन्। प्राक्टिकल एक्शनका वरिष्ठ कार्यक्रम अधिकृत चक्रबहादुर बमका अनुसार, जोखिम हस्तान्तरण पद्धतिमा पहुँच कायम गरी बाढी जोखिम क्षेत्रका किसानको आर्थिक क्षति कम गर्न यो कार्यक्रम लागू गरिएको हो। यो बीमा सजिलो छ, किनकि कर्णाली नदीमा पानीको सतह बढ्ने बित्तिकै बीमित किसानको मोबाइलमा बाढीले सूचकांक तह पार गरेको सन्देश र भुक्तानीको लागि योग्य भएको जानकारी आउँछ। जल तथा मौसम विज्ञान विभागले बाढीको तह प्रमाणीकरण गरेपछि बीमा कम्पनीले रकम स्वचालित रूपमा सामूहिक बीमा वाहक सहकारीमार्फत किसानको खातामा तुरुन्तै जम्मा गर्छ। यसरी, बाढी आएको केही दिनमै भुक्तानी प्राप्त हुने र भुक्तानीका लागि अन्य बीमा कार्यक्रम जस्तो झन्झटिलो प्रक्रिया गर्नु नपर्ने भएकाले शिखर ईन्सुरेन्स कम्पनीका प्रबन्धक ढुण्डीराज रिजालका अनुसार यसले किसानको मन जित्न सफल भएको छ।
यो बीमा योजना कर्णाली नदीको चिसापानी जलमापन केन्द्रलाई आधार बनाई लागू गरिएको छ। वैज्ञानिक अध्ययनअनुसार, जल मापन केन्द्रमा पानीको सतह १४.८० मिटरभन्दा माथि पुगेमा किसानलाई शतप्रतिशत बीमा रकम दिइन्छ, र १०.८० मिटर पुगेमा १० प्रतिशत रकम प्राप्त गर्छन्। विगत चार वर्षमा स्थानीय सरकार, प्राक्टिकल एक्शन र शिखर बीमा कम्पनीको साझेदारीमा लागू भएको यो कार्यक्रममा हालसम्म ८ हजार ५ सय ६२ किसान सहभागी भइसकेका छन्। बीमा गर्दा किसानले अनिवार्य रूपमा प्रति व्यक्ति २ लाखको दुर्घटना बीमा पनि गराउनु पर्छ।
सूचकांकमा आधारित बाढी बीमाको रकम लिन कुनै सिफारिस वा बाढी पछिको लेखाजोखाको आवश्यकता नपर्ने हुँदा यो अन्य बीमा भन्दा बढी विश्वासिलो र सबैको पहुँचयोग्य बनेको छ। जलवायु परिवर्तनका कारण बढ्दो अस्वभाविक बाढीले धानबालीमा पुग्ने क्षतिबाट किसानलाई राहत दिनका लागि यस बीमा कार्यक्रमलाई मुलुकभर सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।