क्रेमलिनद्वारा भूभागसम्बन्धी अड्चन यथावत् रहेको स्पष्ट
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
1.9k
Shares
काठमाडौं। मस्कोमा भएको उच्च–स्तरीय वार्ताबाट रुस–यूक्रेन शान्ति प्रस्तावमा सकारात्मक संकेत भेटिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्। ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने कुरा वार्ताबाट बुझिएको बताए।
बुधबार अमेरिकी विशेष दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले मास्कोमा पुटिनसँग पाँच घण्टा लामो वार्ता गरेका थिए। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “पुटिनको जारेड कुश्नर र स्टिभ विट्कफसँग निकै राम्रो भेटवार्ता भयो... उहाँ (पुटिन) युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने धारणा उनीहरूले ल्याएका छन्।”
तर क्रेमलिनका वरिष्ठ सल्लाहकार युरी उशाकोभले वार्ता यो द्वन्द्व सुरु भएयता वाशिंगटन र मास्कोबीच भएको “सबैभन्दा व्यापक छलफल” भए पनि भू–भागसम्बन्धी मुद्दामा “कुनै सम्झौता” हुन नसकेको स्पष्ट पारे। उनका अनुसार, दुवै टोलीले सम्भावित समाधानका विभिन्न विकल्पहरू छलफल गरे पनि फेब्रुअरी २०२२ मा सुरु भएको युद्धका प्रमुख विवादहरू ज्यूँका त्यूँ रहे। उशाकोभले भने, “हामी यूक्रेन सङ्कट समाधानमा अझै नजिक पुगेका छैनौँ, धेरै काम बाँकी छ।”
उनका अनुसार, अमेरिकी पक्षले नयाँ प्रस्तावहरू प्रस्तुत गरे पनि यूक्रेनी भू–भागसम्बन्धी मुख्य अड्चनहरू यथावत् रहे। छलफल गोप्य थियो र वार्ताको वास्तविक विषयवस्तु सार्वजनिक नगर्ने सहमति भए पनि कूटनीतिक संवाद “जारी रहने” छ। उशाकोभले पुटिनले विट्कफलाई ट्रम्पसम्म पुर्याउन “केही महत्त्वपूर्ण राजनीतिक सन्देश” पनि दिएको जानकारी दिए।
यसैबीच, अमेरिकी टोलीसँग भेट हुनुअघि पुटिनले युरोपेली पक्षहरूको आलोचना गर्दै, उनीहरूले प्रस्तुत गरेका प्रस्तावहरू “सम्पूर्ण शान्ति प्रक्रियालाई रोक्ने” उद्देश्यका मात्र भएको आरोप लगाएका थिए।