बजेट बचाएर अर्थमन्त्री, सचिवले आफ्नो कम्पनीमा लगानी गरे भन्नु गलत - मन्त्री खनाल [भिडियो]
सरकारी बजेट बचाएर निजी कम्पनीमा लगानी सम्भव छैन
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
851
Shares
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान कानूनी व्यवस्थामा कुनै पनि मन्त्री वा कर्मचारीले सरकारको बजेट बचाएर आफ्नो निजी (प्राइभेट) कम्पनीमा जम्मा गर्नै नसक्ने स्पष्ट पारेका छन्।
बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारी बजेट बचाएर अर्थमन्त्री वा सचिवहरूले आफ्नो निजी कम्पनीमा लगानी गरेको भन्ने आरोपको खण्डन गरेका हुन्।
अर्थमन्त्री खनालले भने, "नेपाल सरकारको १२० अर्बलाई बचाएर तिम्रो आफ्नो कम्पनी, अर्थसचिवको कम्पनीमा लगानी गर्नुभयो भनेर भनियो, त्यो सम्भव छैन। वर्तमान व्यवस्थामा कानून बमोजिम सरकारको कुनैपनि मन्त्री, कर्मचारीले सरकारको बजेट बचाएर आफ्नो प्राइभेट कम्पनीमा जम्मा गर्न सक्दैन।"
उनले एउटा जिम्मेवार निकायमा बसेको र करदाताको जिम्मा लिएको व्यक्तिले त्यस्तो 'हिम्मत गर्दै नगर्ने' दाबी गरे। साथै, यस्तो गतिविधि भएमा अख्तियार लगायतका उत्तरदायित्व परीक्षण गर्ने निकायहरूले हेर्ने पनि उनले स्पष्ट पारे। अर्थमन्त्री खनालले पछिल्लो समय गलत सूचनाहरूको बाढी नै आएको भन्दै सांसदहरूलाई त्यस्तोमा विश्वास नगर्न आग्रह गरे।