बुढानीलकण्ठ स्कुलमा टियागो इभि “कार्टनिवल” अन्तर स्कुल चित्रकला कार्यक्रममा ३७७ विद्यार्थीको सहभागिता, सिर्जनशीलताको उत्सव सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
779
Shares
काठमाडौँ। टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालि अन्तर्गत टाटा टियागो ईभीले बुढानीलकण्ठ स्कुल, आर्ट क्लब र सिप्रदीयन सहायता संस्थासँग सहकार्य गर्दै “कार्टनिवल” अन्तर स्कुल चित्रकला कार्यक्रम बुढानीलकण्ठ स्कुलमा भव्य रूपमा सम्पन्न गरेको छ । सो कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाए । साथै, १९ जना पेशेवर कलाकारहरूले पनि उपस्थित भई विद्यार्थीहरूलाई कलात्मक मार्गदर्शन र प्रेरणा प्रदान गरे।
कार्यक्रम दुई समूह—कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२—मा विभाजन गरिएको थियो। “कार्टनिवल” लाई प्रतियोगिता तथा कार्यशाला दुवै प्रारूपमा सञ्चालन गरियो, जसले विद्यार्थीहरूलाई वातावरण, दिगोपन, आधुनिक गतिशीलता र नवप्रवर्तनजस्ता विषयहरूमा आफ्ना विचार र कल्पना शक्ति कलामार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गर्यो।
कार्यक्रमको उद्घाटन बुढानीलकण्ठ स्कुलका उपप्राचार्य पूर्णिमा लामा, सिप्रदी ट्रेडिङ प्रालिका पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापति, तथा टाटा मोटर्सका दक्षिण एसियाका रिजनल कस्टमर केयर म्यानेजर रन्धीर कुमार चौधरीको संयुक्त उपस्थितिमा सम्पन्न भयो।
सो कार्यक्रममा प्रिन्सिपल केशर खुलालले विद्यार्थीहरूको सिर्जनशीलता र अभिव्यक्तिलाई प्रोत्साहित गर्ने यस्ता कार्यक्रमहरू विद्यालयको समग्र विकासका लागि अत्यन्त महत्त्वपूर्ण भएको बताए। पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापतिले कला केवल मनोरञ्जन नभई सोच, दृष्टि र कल्पना शक्तिको विस्तार गर्ने प्रभावशाली माध्यम भएको उल्लेख गरे।
यो कार्यक्रम टाटा ईभीको “मूभ विथ मीनिंग” सामुदायिक अभियानअन्तर्गत आयोजना गरिएको हो, जसले युवा पुस्ता, वातावरणीय चेतना र सामाजिक जिम्मेवारीलाई सशक्त रूपमा जोड्ने लक्ष्य लिएको छ।
अन्त्यमा, सिप्रदी ट्रेडिङ र टाटा ईभीले यस्ता सामुदायिक, शैक्षिक तथा सिर्जनात्मक पहलहरूलाई आगामी दिनमा अझ सशक्त रूपमा निरन्तरता दिने, समाजमा सकारात्मक प्रभाव पुर्याउने र विद्यार्थी सशक्तीकरणमा निरन्तर योगदान पुर्याइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।