समृद्ध नेपाल निर्माणका लागि सहमति, सहकार्य र एकताको खाँचो : अध्यक्ष श्रेष्ठ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
797
Shares
काठमाडौँ । गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले समृद्ध नेपाल निर्माणको लागि सबै क्षेत्रमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताएका छन् ।
आइतबार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले सहमति, सहकार्य र एकताको खाँचो औँल्याएर नै संघको एकता गरिएको बताएका हुन् ।
उनले विभाजनको कारण संघ विगत चार वर्ष अत्यन्तै कठिन परिस्थितिमा पुगेको बताए । अफ्ठ्यारो परिस्थितिलाई एकता गरेर आफूहरूले देशमा नयाँ सन्देश दिन खोजेको उनको भनाइ छ ।
उनले संघमा मात्रै नभएर समृद्ध नेपाल निर्माणका लागी नेपालका राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था सबैतिर सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गरे ।
त्यो एकताको नेतृत्व संघले गरेको उनको भनाइ छ । एकीकृत संघ अब समृद्ध नेपाल निर्माणका लागि लाग्ने उनले बताए ।
उनले भने, ‘एकता हामीले शुरु गरेका छौँ । यो अभियानको शुरूआत हो । आजको एकताले विगत करिब चार वर्ष अगाडिदेखि हामी अत्यन्तै कठिन परिस्थितिमा थियौँ । गैरआवासीय नेपाली संघमा असाध्यै अफ्ठ्यारो परिस्थिति थियो । यो अफ्ठ्यारो परिस्थितिलाई हामीले एउटा सन्देश दिन चाहन्छौँ, एकता गरेर । हामी गैरआवासीय नेपाली संघले एकता गरेर नेपालमा के सन्देश दिन चाहन्छौँ भने अहिले हामीलाई सहमति, सहकार्य र एकताको खाँचो छ । समृद्ध नेपाल निर्माणका लागि यो केवल गैरआवासीय नेपालीको लागि मात्रै होइन । हाम्रो यो एकताले नेपालका राजनीतिक दलहरू, नागरिक समाज, हरेक निकायमा अहिले नेपालमा सहमति, सहकार्य र एकताको खाँचो छ, त्यो एकताको सन्देश हामीबाट शुरुआत भएको छ र अब समृद्ध नेपाल निर्माणमा हामी सबै लागौँ, गैरआवासीय नेपालीहरूले पनि समृद्ध नेपालमा हामीले आफ्नो योगदान अवस्य गर्नेछौँ ।’
विदेशमा रहेका ज्ञान, सिप र पुँजी नेपाल भित्र्याउने अभियान यो एकताबाट शुरू भएको उनले बताए ।
उनले विभाजनले संघका मुद्दा कमजोर बन्नुका साथै नेपालमा लगानी भित्र्याउन पनि समस्या भएको बताए ।