arrow

देउवालाई निर्णायक अग्रसरता देखाउन महेश आचार्यको आग्रह

logo
महेश आचार्य,
प्रकाशित २०८२ मंसिर १४ आइतबार
mahesh-acharya-nc-14-08-082.jpg

आदरणीय सभापतिजी, नेपाली कांग्रेस, सादर जय नेपाल !

तपाईंमाथि भएको सांघातिक आक्रमणको केही समयपछि भानुभाइलाई तपाईंको स्वास्थ्य स्थिति र भेटने संभावनाबारे सोधेको थिएँ । परिस्थितिबस भेट हुन सकेन ।

राष्ट्रिय राजनीतिको गम्भीर संकटको बेला पार्टीको वर्तमान अवस्था र निर्णयहिनताले क्षुब्ध बनाएकाले आज यो सार्वजनिक अनुरोध गर्दैछु । झण्डै पाँच दशकदेखिको तपाईंसँगको मित्रवत् सम्बन्ध संझिएर यो अनुरोध गर्दैछु । 

चिन्ताग्रस्त मेरो मनमा बारम्बार यो प्रश्न उठिराखेको छ सभापतिजी - पार्टीभित्र आखिर यो प्रत्युत्पादक अलमल किन ? तपाईंको कार्यकाल अब केही सातामै सकिँदैछ । विधानले फेरि सभापति बन्न दिँदैन । के तपाईं पुनः प्रधानमन्त्री बन्न चाहनु हुन्छ ? कसको सहयोगमा ? 

ओलीजीको जो आफ्नै पार्टीभित्र विवादको भूमरीमा र राज्यका निकायबाट अनुसन्धानको घेरामा हुनुहुन्छ वा प्रचण्डजीको विश्वासमा जो गठबन्धन फेर्ने कलाबाजीमा अद्वितीय हुनुहुन्छ ।

यदि यी चाहना छैनन् भने आफ्नो उत्तराधिकारी स्थापित गर्ने गलत रणनीतिको चक्रव्यूहमा भने कृपया नफस्नुहोस् । यस्तो सोचलाई देशले, समयले  र कांग्रेस राजनीतिले स्वीकार्दैन ।

उदार चित्तले सोच्दा पार्टी राजनीतिमा अब तपाईंका कुनै निजी स्वार्थ बाँकी छैनन् । केवल देशको प्रगति र एकताको चाहना अनि पार्टीको गौरवशाली इतिहास र लाखौँ कांग्रेसजनको संघर्ष र समर्पणको कीर्तिको रक्षा गर्नु नै तपाईंको संघर्षपूर्ण जीवनको ध्येय बन्न पुगेको छ भन्ने मलाई लाग्छ ।

कांग्रेसलाई अहिलेको विषम परिस्थितिबाट मुक्त गर्न तपाईंले सत्ता राजनीतिबाट तत्काल विश्राम लिएर चुनाव अघिनै महाधिवेशन गराउने स्पष्ट अभिभावकीय मार्ग निर्देशन गर्न जरुरी देख्दछु ।

यो सत्य हो कांग्रेसभित्र तपाईंको जत्रो अग्लो कद अहिले अरु कसैको छैन । त्यसैले कांग्रेसको संकटमोचन गर्न समयले तपाईंकै त्याग र उदारता खोजेको छ । हस्तिनापुर साम्राज्यको आजीवन रक्षा गर्ने प्रतिज्ञा गरेका भीष्मले प्रतिज्ञा पालन गर्ने नाममा अनि ज्ञान र तप साधनाको ओजस्वितालाई गुरु द्रोणाचार्यले नुनको सोझो गर्ने नाममा दुर्योधनको अधर्मी र अत्याचारी शासनको रक्षा गर्न उभिँदा यी मनिषीद्वारा परिवर्तन हुँदै गरेको नयाँ युग, त्यो युगको चेतना र तिन्का नायकलाई रोक्ने गंभीर गल्ती भयो ।

फलस्वरुप महाभारतको विध्वंश हुनपुग्यो।अहिले हाम्रो देशमा युगले कोल्टे फेर्दैछ । नयाँ युग चेतना र नायक जन्मदैछन् । तिन्को पदचाप र ध्वनि सुन्न जरुरी छ।

आदरणीय सभापतिजी, सुवर्ण शमशेरजीको सभापतित्वको कार्यकाल असाधारण थियो । समाजवादलाई पार्टीको आर्थिक कार्यक्रम स्वीकार गर्नेदेखि विशेष अधिवेशनको माध्यमबाट राष्ट्रिय राजनीतिको गतिरोध चिर्ने सम्मका घटनामा उहाँको सुझबुझ असाधारण थियो । 

त्यसबेला २००७ सालको शाही घोषणाले वाचा गरेको विधान परिषदको चुनाव अनिश्चित पारिएको थियो । क्रान्तिका वास्तविक नायक बीपीलाई सत्ताबाट लगातार बाहिर राख्ने षडयन्त्र थियो । कहिले राजाको प्रत्यक्ष शासन कहिले प्रधानमन्त्री फेरिरहने प्रयोगबाट चुनाव ७ वर्षसम्म रोकिएको थियो । 

देशको यो अन्योल चिर्न तत्काल चुनावको घोषणा र चुनाव गराउन सक्ने कांग्रेस नेतृत्वको सरकार राष्ट्रकै एजेण्डा बनेका थिए । राष्ट्रका यिनै मुद्दालाई पार्टीको एजेण्डा बनाएर कांग्रेसले २०१४ सालमा पार्टीको विशेष अधिवेशनद्वारा घोषणा गरेको देशब्यापी सत्याग्रहको बलमा २०१५ सालको आम निर्वाचन संभव गराएको थियो ।

यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न श्रध्देय सुवर्ण शमशेरले सभापति पदबाट राजीनामा गरी बीपीलाई विशेष अधिवेशनबाट सभापति निर्वाचित गर्ने ढोका खोलिदिनु भएको थियो। 

आज फेरि राष्ट्रमा नयाँ पुस्ताको आन्दोलनपछि उठेका मुद्दालाई समेत सम्बोधन गर्न अनि  युगीन चेतना र आकाङ्क्षालाई पूरा गर्न कांग्रेसले नयाँ नेतृत्व, कार्यशैली र व्यापक नीतिगत सुधार प्रस्तावित गर्न जरुरी भएको छ । जसका लागि तपाईंको निर्णायक अग्रसरता तपाईंको राजनैतिक जीवनको महत्वपूर्ण उपलब्धि हुनेछ । 
सादर जय नेपाल सहित, 
महेश आचार्य, वानेश्वर - ३१
(आचार्य कांग्रेस पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ