arrow

बालुवाटार पुगेका राप्रपा नेताहरूले प्रधानमन्त्रीसँग यस्तो राखे प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
lingdenss.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रतिनिधिमण्डलले शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि महत्त्वपूर्ण प्रस्तावहरू अघि सारेको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजा, राजनीतिक दल र जेन–जी लगायत सरोकारवालाहरूको सर्वपक्षीय बैठक आह्वान गर्न दबाब दिएको हो। राप्रपाले यो नवीन समझदारीका लागि औपचारिक प्रस्ताव गरेको छ। अध्यक्ष लिङ्देनले प्रधानमन्त्री कार्कीलाई ५ बुँदे ज्ञापनपत्र बुझाउँदै नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको पहल लिन आग्रह गरेका छन्।

अध्यक्ष लिङ्देनले अन्तरिम सरकार २०८४ मा हुने निर्वाचन २०८२ मा गराउन मात्रै नबनेको स्पष्ट पारे। निर्वाचन नै समस्याको समाधान नभएको उनको भनाइ छ। अन्तरिम सरकारले देशलाई दीर्घकालीन निकास दिनुपर्ने उनले बताए। राप्रपाले आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीहरूले मतदान गर्न पाउने व्यवस्था गर्न पनि माग गरेको छ। अध्यक्ष लिङ्देनले जेन–जी आन्दोलनका प्रमुख पक्ष शहीद परिवार र घाइतेहरू भएकाले उनीहरूको मागलाई सम्बोधन गर्न पनि आग्रह गरे। जेन–जी प्रदर्शनमा सहभागी भएकै आधारमा मानिसहरू पक्रिने र दुःख दिने काम भएको बताउँदै राप्रपाले अपराधिक क्रियाकलापमा सहभागी भएका बाहेक प्रदर्शनमा मात्रै सहभागी भएकै आधारमा पक्रिने काम बन्द गर्न आग्रह गरेको छ। उनले जेन–जीका प्रमुख व्यक्तिहरूलाई नै सिंहदरबार प्रवेश गर्न नदिने, लछारपछार गर्ने र राति छोडिदिने काम भइरहेको भन्दै यस्तो काम बन्द गर्न आग्रह गरे।

अध्यक्ष लिङ्देनले भने, “राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले बनेको सरकार २०८४ मा हुने निर्वाचन २०८२ मा गराउन मात्रै होइन। देशको समस्याहरूको समाधान गर्नेगरी कार्यक्रम अघि बढाओस् र केबल निर्वाचन गरेर समस्या पर ठेल्ने काम नगरोस्। अहिले हुने चुनाव समस्याको समाधान होइन। राजा, राजनीतिक दल, जेनजी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक बसाओस् र देशलाई दीर्घकालीन निकास देओस् त्यसको पहल गरोस् यो सरकारले भनेका छाँै। आउने चुनावमा विदेशमा बस्ने नेपालीहरूले भोट दिन पाउने सुनिश्चितता गरियोस्। त्यो सम्भव छ र कार्यान्वयन गरियोस्।”

अध्यक्ष लिङ्देनले राजासहितको सर्वपक्षीय छलफलबारे प्रधानमन्त्री कार्कीले यसबारेमा अहिले केही नसोचेको र आफ्नो क्षेत्र नभएको बताएको जानकारी दिए। सरकार प्रमुखको नाताले सबै पक्षलाई बोलाएर समाधान निकाल्न संयोजनको काम भएको आफूहरूले बताएको उनले बताए। अध्यक्ष लिङ्देनले सरकारका बारेमा राप्रपाले मंसिर २३ गते काठमाडौँमा ध्यानाकर्षण सभा गर्ने र देशभर यस प्रकारका सभाहरू आयोजना गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ