सर्लाही। युरोपको रोमानियामा कार्यअवसरका लागि पुगेका सर्लाही, ईश्वरपुर नगरपालिका–६ निवासी २५ वर्षीय सलिन आले मगरको सडक दुर्घटनामा मृत्यु भएको छ।
लगभग १० महिनाअघि रोजगारका लागि त्यहाँको बुखारेस्ट पुगेका सलिन त्यहाँको पान फास्टफुडमा कार्यरत थिए। शुक्रबार साँझ राजधानी बुखारेस्टको काला जिउलेस्ती सडक पार गर्ने क्रममा विपरीत दिशाबाट अत्यधिक वेगमा आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको बताइएको छ।
प्रहरी प्रशासनलाई उद्धृत गर्दै उक्त कार १८ वर्षीय रोमानियन युवकले चलाएको बताइएको छ।
हाल सलिनको शव बुखारेस्टस्थित कलिनिका दे अर्जेन्ट अस्पतालको शवगृहमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउने तयारी भइरहेको र घटनाबारे परिवारलाई औपचारिक रूपमा जानकारी गराइएको बताइएको छ।