एनपीएल अवैध सट्टेबाजीमा दुई करोड भन्दा माथि कारोबार, १० जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
852
Shares
काठमाडौँ। नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको दौरान अवैध अनलाइन सट्टेबाजीमा दुई करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको पाइएको जनाएको छ।
काठमाडौँ प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो। परिसरका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले एनपीएल चलिरहेको बेला राजधानीमा सक्रिय अनलाइन बेटिङ समूहहरूविरुद्ध काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान सञ्चालन गरी १० जनालाई पक्राउ गरेको बताए।
उनका अनुसार अनुसन्धानका क्रममा डिजिटल वालेटहरूमा करिब रु २ करोड ५ लाख बराबरको कारोबार भएको प्रमाण फेला परेको छ। एसपी भट्टराईले स्टेक डटकम, बेटबुक डटकम लगायतका वेबसाइटहरू तथा यससँग सम्बन्धित अन्य एप्लिकेसनहरू अनलाइन बेटिङका लागि प्रयोग गरिएको पनि बताए। उनले भने, “करिब, करिब दुई करोड पाँच लाखको ट्रान्ज्याक्सन भएको वालेटहरूमा ट्रान्ज्याक्सन भएको देखिन्छ। केन्द्रिय इन्भेस्टिगेसनकै क्रममा हाम्रो कस्टडीमै छ अहिले...”
नेपाल प्रहरीले अनलाइन जुवा र डिजिटल माध्यमबाट हुने आर्थिक अपराधहरूलाई नियन्त्रणमा ल्याउन थप अनुसन्धान र कारबाही जारी राख्ने जनाएको छ।