पुराना दलको निशानामा युवा रहेको जेन-जीको दुःखेसो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
796
Shares
काठमाडौँ । जेन-जी २.० संगठनका युवाले पछिल्लो समय सरकारले जेन-जी युवाप्रति गरेको व्यवहार गलत रहेको बताएका छन् ।
आइतबार गृहमन्त्रालय पुगेका जेनजी २.० का प्रवक्ता अविन लिम्बुले गृहमन्त्रीसँगको भेटमा भदौ २३ गते घटना घटाउनेलाई कारबाही गर्नुपर्ने माग गरिएको बताए ।
उनले भने, ‘गृहमन्त्रीसँग हाम्रो भेट भयो, हामीले उहाँसँग भदौ २३ गते नआई २४ गते आउदैन । २३ गते जुन घटना घट्यो त्यसका त्यो घटना घटाउनेलाई कारबाही गर्नुपर्छ । अर्को कुरा २४ गते जुन उदण्ड मच्चियो त्यसमा २३ गते घटेको घटनाको ठूलो हात थियो । त्यसकारण २३ गते घटना घटाउनेहरुलाई पक्राउ गर्नुहोस् र २४ गतेलाई नछोड्नुहोस् । अपराध गरेकै हो अपराधीकरण त गर्नैपर्यो ।’
प्रवक्ता लिम्बुले युवाहरू सरकारको पर्खाल रहेको बताउँदै सरकारलाई चाहिने सहयोग गर्ने बताए ।
‘हामी सरकारको पर्खाल हौँ । सरकारलाई चाहिने सबै कुराको सहयोग गर्न हामी तयार छौँ,’ उनले भने ।
जेनजी २.० संगठनका केन्द्रीय सचिव कुन्दन कुशवाहले सरकारले जेन-जी आन्दोलनको माग अनुसार काम नगरेको भन्दै सरकारले जेनजी युवाप्रति गरेको व्यवहार गलत रहेको बताए ।
उनले भने, ‘जेनजीको सरकार, नागरिकको सरकार, जेनजीको रगतले बनेको सरकारले खासमा शहीद र घाइते परिवारको म्यान्डेट अनुसार, आन्दोलनको म्यान्डेट अनुसार काम गर्नुपर्ने तर अहिले गृहमन्त्रीज्यूले जुन प्रकारले काम गरिरहनुभएको छ, यो सरासर गलत हो ।’
उनले पुराना राजनीतिक दलको टार्गेटमा युवा रहेको भन्दै युवालाई सुरक्षा दिनुपर्ने ठाउँमा सरकारले पुराना राजनीतिक दललाई नै सुरक्षा दिइरहेको बताए ।
‘पुराना राजनीतिक दलले हामीलाई टार्गेटमा राखेको छ । हामीलाई सुरक्षा दिनुपर्ने ठाउँमा सरकारले पुराना राजनीतिक दललाई नै सुरक्षा दिइरहेको छ । हामी के चाहन्छोँ भने शान्ति, सुरक्षा चाहन्छौँ । अहिलेको नागरिक सरकारलाई हामी सघाउन पनि चाहन्छोँ,’ उनले भने ।