arrow

बाँसगढीमा प्राङ्गारिक मल कारखाना स्थापना 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ६ शनिबार
mal-karkhana.jpg

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकाले प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ । आगामी बैशाखदेखि प्रांगारिक मल उत्पादन शुरूआत गर्ने गरी नगरपालिकाले मल कारखाना निर्माण गरिरहेको छ । 

बाँसगढी नगरपालिका वडा नं ४ मदाहा नजिक रहेको गौशालाको छेउमा प्राङ्गारिक मल कारखाना निर्माणाधीन छ । 

नगरपालिकाको तीन करोड र प्रदेश सरकारको एक करोड गरी जम्मा चार करोडको लगानीमा प्राङ्गारिक मल कारखाना निर्माण थालिएको हो ।

२०८१ फागुनदेखि निर्माण शुरू गरिएकोमा आगामी चैत महिनासम्म निर्माण सम्पन्न हुने छ ।

आगामी बैशाखदेखि उत्पादन शुरू गरी धान र मकैको सिजनमा कृषकलाई मल उपलब्ध गराउने योजना रहेको बाँसगढी नगरपालिकाका नगर प्रमुख खडकबहादुर खड्काले बताए ।

नगरपालिका भित्रका कृषकलाई सहुलीयत मूल्यमा मल उपलब्ध गराउने र मल बचेमा अरु छिमेकी नगरपालिकामा पनि बिक्री गर्ने उनले बताए । 

कारखानाका लागि आवश्यक पर्ने गोबर गौशालाबाट उपलब्ध हुने, गौशालाले नपुगेको गोबर विभिन्न फर्मबाट खरिद गरिने योजना छ । 
थप कच्चा पदार्थका लागि विभिन्न सामुदायिक वनबाट झारपात ल्याएर मल बनाउने योजना रहेको नगर प्रमुख खड्काले बताए ।
कारखाना सञ्चालनपछि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा युवाहरूले रोजगारी पाउने छन् । घरगाउँमा खेर गइरहेका, सामुदायिक वनमा रहेका घाँस र झारपात संकलन गरेर कारखानामा बिक्री गरेर पनि नगरबासी स्वरोजगार बन्ने छन् । 

बाँसगढी नगरपालिकामा उत्पादन हुने कुहिने फोहोर पनि संकलन गरेर कारखानामा खपत गरिने उनले बताए । 

कारखाना नगरपालिका, नगरपालिका भित्रका सहकारी र नगरबासी मिलेर सञ्चालन गर्ने योजना बनाइएको छ ।

‘सञ्चालनका लागि कार्यविधिसमेत बनाउँदै छौँ,’ नगरप्रमुख खड्काले भने, ‘कार्यविधि बनाएर व्यवस्थित रुपमा कारखाना चलाउने योजना छ ।’ शुरूमा दैनिक पाँच हजार मेट्रिक टन प्राङ्गारिक मल उत्पादन गर्ने योजना रहेको छ । 

नेपाल सरकारले पठाउने रासायनीक मलमा मात्र भर पर्दा कृषकहरूले दुःख पाइरहेका छन् । पर्याप्त मात्रामा रासायनिक मल नहुँदा खाद्यन्न उत्पादन घट्दो छ । 

पछिल्लो समयमा गाइवस्तु पाल्ने कृषक कम हुँदै गइरहेका र प्राङ्गारिक मलको अभावले खेतबारीको गुणस्तर घट्दै गइरहेको हुँदा कारखाना स्थापना गरी मल उत्पादन गर्न लागिएको बाँसगढी नगरपालिकाकी नगर उपप्रमुख इन्दिरा चौधरीले बताए ।

उनले मल कारखाना स्थापना गर्नुको मुख्य उद्देश्य भनेको कृषकलाई अर्ग्याननिक खेतीतर्फ आर्कषित गर्नु पनि हो । मल उत्पादन पछि विस्तारै अर्गानिक विषादी पनि उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । 

प्राङ्गारिक मल कारखाना सञ्चालन भएपछि नगरपालिकाभरी मलको अभाव नहुने र नगरबासीलाई रोजगारी पनि हुने बाँसगढी नगरपालिका वडा नं ४ मदाहाका भगवती थारूले बताए ।

‘लामो समयपछि नगरपालिकाले राम्रो काम गरेको छ’ उनले भने, ‘अब नगरपालिका आग्र्यानिक कृषि खेतीतर्फ अगाडि बढ्छकी भन्ने आशा जागेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ