arrow

चोरी भएका ५१ ओटा सवारीसाधन धनीलाई हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
bike-scoter-trafic.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३३ ओटा मोटरसाइकल र १८ ओटा स्कुटर सम्बन्धित धनीलाई  हस्तान्तरण गरेको हो । 

कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यका स्थित गोंगबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभु, लगायतका विविध स्थानबाट उक्त सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो । 

बुझाइएका ५१ सहित ९१ ओटा सवारीसाधन गत साउन यता ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । 

चोरीका नौ ओटा दुईपाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न १९ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । 

सवारीसाधन जिम्मा लिए पश्चात् सवारी धनीले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवादसमेत दिएका थिए ।

आर्थिक वर्ष २०८०/०८१ मा ४१७ ओटा र ०८१/०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । 

सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेश राज सुवेदीले अनुरोध गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ