नबिल बैङ्कको अपोइन्टमेन्ट बैङ्किङ सेवा १३ शाखामा विस्तार
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
589
Shares
काठमाडौँ। नबिल बैङ्क लिमिटेडले अपोइन्टमेन्ट बैङ्किङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ। हाल बैङ्कको तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध यो सेवा अब भने काठमाडौँ उपत्यकाका १३ शाखामा उपलब्ध हुने बैङ्कले जनाएको छ।
बैङ्कबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी, ग्राहकमैत्री र डिजिटल रूपमा अगाडि बढाउने उद्देश्यले अपोइन्टमेन्ट बैङ्किङ सेवा विस्तार गर्न लागिएको बैङ्कले जनाएको छ। व्यस्त पेसाकर्मी, व्यवसायी तथा समयको अभाव हुने ग्राहकलाई सहज रूपमा छिटो सेवा दिने उद्देश्यले सेवा विस्तार गर्न लागिएको बैङ्कको भनाइ छ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले उक्त सेवा विस्तारसँगै ग्राहक र बैङ्कबीचको सम्बन्ध अझ सुमधुर हुनेमा विश्वास व्यक्त गरे। “नबिल बैङ्क ग्राहकलाई सहज रूपमा नवीनतम सेवा प्रदान गर्न प्रतिबद्ध छ। अपोइन्टमेन्ट बैङ्किङ सेवा विस्तारले ग्राहकलाई आफ्नो अनुकूल समयमा सहज सेवा लिन सहयोग पुग्नेछ।”
बैङ्कका अनुसार हाल यो सेवा कौशलटार, बौद्ध, नयाँ बानेश्वर, मैतीदेवी, काँडाघारी, बिजुली बजार, तीनधारा, ललितपुर, घण्टाघर, कुमारीपाटी, महाराजगन्ज, न्यूरोड र त्रिपुरेश्वरस्थित बैङ्कका शाखा कार्यालयमा उपलब्ध हुनेछ।
यस सेवामार्फत ग्राहकले नगद तथा चेकको कारोबार लाइनमा नबसी छिटो र छरितो रूपमा गर्न पाउनेछन्। डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै बैङ्किङे अभ्यासलाई छिटो र छरितो बनाउन अपोइन्टमेन्ट बैङ्किङ सेवाले सहयोग गर्ने बैङ्कको भनाइ छ। ग्राहकले नबिल बैङ्कको वेबसाइट वा एनबैङ्क एपमार्फत सहजै अपोन्टमेन्ट लिन सक्नेछन्।
नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो। नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाका रूपमा काम गर्दै आएको छ।