arrow

मेक्सिकोमा चर्कियो जेन-जी आन्दोलन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
genz-andolan-02-08.jpg

काठमाडौँ। मेक्सिकोमा जेन-जी उमेर समुहले सरकारविरुद्ध गरेको आन्दोलनमा प्रहरीसहित एक सय २० जना घाइते भएका छन् ।

मुलुकभित्र भइरहेको बढ्दो अपराध, भ्रष्टाचार र दण्डहीनता विरुद्ध जेनजी समूहद्वारा आन्दोलन गरिएको हो ।

मेक्सिकोका सार्वजनिक सुरक्षामन्त्री पाब्लो वाजक्वेजका अनुसार झडपमा एक सय जना प्रहरी घाइते भएका छन भने २० जना आन्दोलनकारी घाइते भएका छन् । 

२० जना आन्दोलनकारी पक्राउ परेका छन् भने थप २० जनालाई प्रशासनिक मामिलामा कारबाहीका लागि बुझाइएको उनले बताए । उनका अनुसार घाइतेमध्ये ४० जना प्रहरीको अस्पतालमा उपचार गरिएको छ ।

प्रदर्शनकारीले जापानी मंगा वन पिस को ‘स्ट्र ह्याट’ खरानी टोपी लगाएको खोपडी अंकित झण्डा फहराएका छन् ।

कार्टून पात्र देखिने उक्त झण्डा प्रदर्शनसँग मेल नखाएजस्तो देखिए पनि, जेन-जी पुस्ताका आन्दोलनकारीका लागि यसको गहिरो प्रतिकात्मक अर्थ छ ।

विश्वभरका युवापुस्ता-केन्द्रित आन्दोलनमा देखापर्ने सांस्कृतिक प्रतीकमध्ये वन पिस को जोली रोजर झण्डा हाल जेनजी आन्दोलनको साझा पहिचान बनेको छ । 

मेक्सिको सिटीमा राष्ट्रपति क्लाउडिया शाइनबौम बस्ने नेशनल प्यालेस वरिपरि लगाइएका बार हटाउने क्रममा हुड लगाएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु-ग्यास प्रयोग गरेको थियो ।

प्रदर्शनमा प्रयोग गरिएको झण्डा १९९७ मा प्रकाशित जापानी मंगा वन पिस का सिर्जनाकर्ता एइइचिरो ओडाले बनाएको कथाबाट प्रेरित हो ।

मंगामा मुख्य पात्र मन्की डी. लुफी र उनको ‘स्ट्र ह्याट क्रू’ स्वतन्त्रता, सपनाको खोजी र दमनकारी ‘वल्र्ड गभर्नमेन्ट’ विरुद्ध लड्ने कथामा केन्द्रित छन् ।

वन पिसका प्रशंसकहरूका अनुसार यो झण्डा सपनाको खोजी, अन्यायविरुद्धको विद्रोह र स्वतन्त्रताको प्रतीक हो ।

यही कारणले यो झण्डा एशियाका विभिन्न विरोध प्रदर्शनहरू-इन्डोनेसिया, फिलिपिन्स, नेपालदेखि फ्रान्सको राजधानी पेरिससम्म युवापुस्ताको प्रतिरोधको चिन्हका रूपमा फैलिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ