arrow

सर्लाहीमा पाँच हजार आठ सय नयाँ मतदाता थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
sarlahi.png

सर्लाही। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाहीमा थप पाँच हजार आठ सय १७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज १० गतेबाट नयाँ दर्ता सुरु गरिएको नामावली सङ्कलन अभियानमा उत्साहपूर्ण सहभागिता देखिएको थियो।

जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहले जानकारी दिएअनुसार, थपिएका नयाँ मतदातामध्ये तीन हजार ३९० पुरुष (५८.२८%) र दुई हजार ४२७ महिला (४१.७२%) रहेका छन्। साथै, आफ्नो विवरण सच्याउनका लागि एक हजार ३१७ जनाको उजुरी परेको र उक्त उजुरीमाथि क्रमैसँग कारबाही भइरहेको छ। राष्ट्रिय परिचयपत्रको विवरणबाट सोझै मतदाता नामावली दर्ता गर्नका लागि पनि निवेदन परेको र त्यो विवरण अबको केही दिनपछि स्वीकृत गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी अरविन्दकुमार झाको भनाइ छ।

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरुप आयोगले मतदाता नामावली सङ्कलन र विवरण अद्यावधिक गरेको हो। हाल पाँच हजार ८१७ जना नयाँ मतदाता थपिएसँगै जिल्लामा कुल चार लाख ९५ हजार ८२१ जना मतदाता पुगेको कार्यालयले जनाएको छ।

निर्वाचन अधिकारी साहका अनुसार, कार्यालयसम्म पुगेका सबै सेवाग्राहीले सेवा पाए पनि जिल्लाका कुनाकन्दरामा रहेका नागरिकले समय अभाव र अपायकका कारण सेवा दिन नपाएको गुनासो गरेका छन्। जिल्लाको चुरेक्षेत्रस्थित हरिवन नगरपालिका–१ बिलन्दीकी बुद्धिमाया तामाङले आफूजस्ता वयोवृद्ध नागरिकका लागि सरकारले घरमै पुगेर मतदाता नामावली सङ्कलनको सुविधा दिनुपर्ने अपेक्षा व्यक्त गरेकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ