arrow

झापा आइपुगेको हात्तीको समूह मोरङतिरै फर्कियो, बाँकीको निगरानी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
elephant-jhapa.jpg

झापा। झापा आइपुगेको जङ्गली हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार, मोरङबाट आइतबार अधिकतम ३० हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग नजिकै रहेको रतुवामाई वृक्षरोपण जङ्गलमा आइपुगेको थियो। बथानमा हात्तीका थुप्रै छावा पनि थिए।

प्रमुख श्रेष्ठले "तीमध्ये १५ वटा हात्तीको झुण्ड सोमबार मोरङतिरै फर्किएको खबर प्राप्त भएको छ" भने। रतुवामाई आइपुगेको हात्तीको बथान छिन्नभिन्न भएर केही मोरङतिरै फर्किएका र बाँकी झापातिरै अलमलिएका कारण वन कार्यालयले निरन्तर निगरानी गरिरहेको छ।

मोरङको सुन्दरहरैँचास्थित कानेपोखरी जङ्गल क्षेत्रबाट हिँडेको हात्तीको बथान झापाको बाहुनडाँगी गौडा हुँदै भारतको पश्चिम बङ्गालतिर फर्किने बाटो पछ्याएको अनुमान गरिएको थियो। सोमबार दिनभरि ती हात्ती झापाको शिवसताक्षीस्थित रतुवामाई र दमकको हम्सेदुम्से सामुदायिक वनमा विश्राममा थिए।

हात्तीको बथान झापातिर आइरहेको खबर पाएपछि डिभिजन वन कार्यालय र स्थानीय पालिकाले जनधनको क्षति नहोस् भनेर व्यापक सुरक्षा सतर्कता अपनाएका थिए। वन कार्यालयले गस्ती टोली परिचालन गरी सर्वसाधारणलाई सावधानी अपनाउन माइकिङसमेत गरेको थियो। प्रमुख श्रेष्ठले भारतबाट भित्रिने गर्भिणी हात्तीहरू नेपालमा सुरक्षितरूपमा बालबच्चा हुर्काएर मात्र भारत फर्किने र अहिले फर्किन लागेको बथानमा पनि थुप्रै छावा रहेकाले भारत नफर्किएसम्म सावधानी अपनाउन आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ