सरकार फागुन २१ मै निर्वाचन गराउन प्रतिबद्ध छ: कानूनमन्त्री सिन्हा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
816
Shares
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकार आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी बोधका साथ अघि बढेको बताएका छन्।
मुलुकमा तोकिएको मितिमा निर्वाचन नहुने आशङ्का भइरहेका बेला मन्त्री सिन्हाले निर्वाचन सम्पन्न गराउने मुख्य ध्येयका साथ सरकार अघि बढिरहेको जानकारी दिएका हुन्।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले 'जेन–जी' आन्दोलनपछि संविधानलाई सही बाटोमा अघि बढाउनका लागि निर्वाचन गराउने उद्देश्यले वर्तमान सरकार गठन भएको स्पष्ट पारे। उनले मुलुकलाई निकास दिन निर्वाचनको विकल्प नरहेको दोहोऱ्याए।
मन्त्री सिन्हाले भने, "जेन–जीको एउटा घटनाक्रम आयो। त्यो परिस्थितिले गर्दा ट्रयाकबाट संवैधानिक प्रक्रियाहरू डाइभर्ट भएको अवस्थामा यसलाई कसरी संवैधानिक प्रक्रियामा नै लिएर आउने भन्ने सन्दर्भमा जिम्मेवारी बोकेर हामी आएका छौँ। हामीले अहिलेसम्म देखेको भनेको चुनाव नै देखेका छौँ। चुनावको माध्यामबाट पुनः यसलाई ट्रयाकमा पठाएर हामीहरूले आफ्नो जिम्मेवारी पूरा गर्ने उद्देश्य रहेको छ।"
उनले मुलुकलाई शान्ति र विकासको बाटोमा अघि बढाउन ढिलाइ नगर्न पनि तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने तर्क गरे। त्यस अवसरमा मन्त्री सिन्हाले २०५२/५३ सालदेखि रोकिएको दलित सम्बन्धी कानून निर्माणमा पनि उचित ध्यान दिने आश्वासन दिए।