निर्वाचन आयोगमा एक सय २२ दल दर्ता, सात खारेज, २८ प्रक्रियामै [भिडियो]
मतदाता नामावलीमा नाम सङ्कलनको कार्य आगामी मंसिर ५ गतेसम्म जारी रहने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३० आइतबार
1.1k
Shares
काठमाडौँ। निर्वाचन आयोगमा हालसम्म १२२ वटा राजनीतिक दल दर्ता कायम रहेका छन्। आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचन घोषणाको दिनदेखि हालसम्म पनि दर्ता कायम रहेका दलहरूको सङ्ख्या एक सय २२ नै रहेको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस अवधिमा सातवटा दल खारेज भएको र सोही सङ्ख्यामा सातवटा नयाँ दलले प्रमाणपत्र पाएको बताए। खारेज भएकामध्ये एउटा राजनीतिक दल सर्वोच्चको आदेशअनुसार र बाँकी छ दल नेतृत्वको आग्रहमा खारेज भएको उनको भनाइ छ। उनले हाल २८ वटा दल दर्ता प्रक्रियामा रहेको बताए।
प्रवक्ता भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्ने आज (कार्तिक मसान्त) अन्तिम दिन भए पनि दल दर्ता प्रक्रिया भने नियमित चलिरहने बताए। उनले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरूले मात्र निर्वाचनमा सहभागी हुन पाउने पनि बताए।
प्रवक्ता भट्टराईका अनुसार मतदाता नामावलीमा नाम सङ्कलनको कार्य आगामी मंसिर ५ गतेसम्म जारी रहनेछ। शनिवार साँझसम्मको तथ्याङ्कअनुसार आयोगमा पुगेर सनाखत गर्नेको सङ्ख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको सङ्ख्या २ लाख रहेको उनले बताए।