कुलमान पार्टी गठनतिर, हुम्ला सदरमुकाम छ दिनदेखि बिजुलीविहीन, सरकारी कामै अलपत्र
जनकबहादुर शाही,
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
2.3k
Shares
हुम्ला । ऊर्जा मन्त्री कुलमान घिसिङ पार्टी गठनमा लागेसँगै गैरजिम्मेवार बन्दै गएका छन् । सामाजिक सञ्जालमा 'उज्यालोका नायक' को उपाधि पाए पनि व्यवहारमा उनी सरकारमा पुगेपछि ठाउँठाउँमा बत्ती जाने क्रम रोकिएको छैन ।
उनको कामकारबाहीलाई लिएर मन्त्रिपरिषदमै असन्तुष्टि बढेको बताइन्छ । उनले नेपाल विद्दुत प्राधिकरणमा आफू सुहाउँदो टिम ल्याएका छन् । तर काम भने उनीहरूको पनि घट्दै गरेको बुझिन्छ ।
सोही क्रममा हुम्लाको सदरमुकाम सिमकोट छ दिनदेखि पूर्ण अन्धकारमा रहेको छ । सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत आपुर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रको ओभर फ्लो र इन्टेकमा खराबी आएपछि मर्मत कार्यका लागि विद्युत् आपूर्ति ठप्प बनेको हो ।
विद्युत् अभावका कारण सरकारी तथा गैरसरकारी कामकाज ठप्पजस्तै छन् । केही कार्यालयमा सोलार जडान गरिए पनि हिउँदको समयमा घाम नलाग्ने भएकाले मोबाइल, ल्यापटपजस्ता आवश्यक उपकरण चार्ज गर्नसमेत समस्या भएको छ ।
सिमकोटमा विद्युत् आपूर्ति ठप्प हुँदा ईन्टरनेट नचलेपछि समाचार संकलन तथा सम्प्रेषणमा ठूलो कठिनाइ भएको पत्रकार राज शाहीले बताए ।
हिल्दुम वितरण केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको छ। वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहका अनुसार विद्युत् गृहलगायत संरचनाको मर्मत आवश्यक परेपछि लाइन बन्द गरिएको हो।
मर्मत कार्यको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द स्वयं स्थलमै पुगेका छन् । ओभर फ्लो र इन्टेकको मर्मत सकिएको भए पनि सिमेन्ट सेट हुन बाँकी रहेको कारण विद्युत् आपूर्ति पुनः चालु गर्न ढिलाइ भएको इन्जिनियर शाहले बताए।
अहिले फर्बे ट्याङ्की नजिकको ओभरफ्लो तथा इन्टेक क्षेत्रका साथै मुहानदेखि फर्बेसम्मको नहरमा पानी चुहिने स्थानहरूको मर्मत पनि पूरा भइसकेको केन्द्रले जनाएको छ।
पहिले कात्तिक २३ गते बिहान ७ बजेदेखि अवरोध भएको विद्युत सेवा २८ गतेदेखि विद्युत्सेवा चालु हुने भनिए पनि प्राविधिक कारण कात्तिक ३० गते (आईतबार) बेलुका मात्र आपूर्ति गर्ने तयारी गरिएको इन्जिनियर शाहले बताए ।