देश रोएको बेला निर्वाचन होइन: जेन–जी अभियन्ताको ‘सर्वपक्षीय वार्ता’ माग [भिडियो]
जेन–जी अभियन्ता ढुंगानाको माग: 'देशलाई निकास दिन सर्वपक्षीय वार्ता आवश्यक, यथास्थितिमा निर्वाचनमा जान सकिँदैन'
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
1.1k
Shares
काठमाडौँ। जेन–जी अभियन्ता मिराज ढुंगानाले मुलुकलाई निकास दिनका लागि सर्वपक्षीय वार्ता हुनुपर्ने प्रश्ताव गरेका छन्। शुक्रबार काठमाडौंमा नागरिक समूहले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने अडान समेत राखे।
अभियन्ता ढुंगानाले जेन–जी आन्दोलनको अर्थलाई सावित गराएर मात्रै मुलुकलाई निकास दिन पनि तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको तर्क गरे। उनले जेन–जी पुस्ताहरूलाई यथास्थितिमा निर्वाचनमा जाने कुरा नगर्न आग्रह दिए। उनले सिंहदरबार जल्नु, पशुपतिनाथ लगभग जल्ने अवस्थामा पुग्नु र न्यायालय जल्नु भनेको 'देश रुनु' भएकोले यी सबै अवस्थामा सोझै निर्वाचनमा जानु 'नेपाली जनताका लागि न्याय नहुने' बताए। देश रोइरहेको अवस्थामा निर्वाचनमा जाने कुरा गरेर यसको स्वाधीनतामाथि प्रश्न चिह्न खडा हुने चेतावनी समेत दिए।
उनको निष्कर्ष छ, “हामी बरु सर्वपक्षीय वार्ता गरौँ। तर देशलाई निकास दिऊँ। यही तरिकामा निर्वाचनमा जाने कुनै हुँदैनथ्यो, कुनै नगरुम्।” उनले देशका ठूल्ठूला सरोकारवालाहरू सबैलाई वार्तामा आएर सामान्य नेपाली जनतालाई न्याय दिन आह्वान गरे। अभियन्ता ढुंगानाले युवाहरू विदेश पलायन हुने क्रम बढिरहेकाले त्यसलाई रोक्नका लागि पनि आवश्यक निर्णय लिनुपर्ने बेला आएको बताए।