arrow

क्षति मूल्याङ्कनमा सरकार

जेन-जी आन्दोलनको क्षतिको एकीकृत विवरण तयार गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूको खर्च प्रतिशत सन्तोषजनक नदेखिएको भन्दै चिन्ता व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
sushila-karki-07-27.jpg

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न निर्देशन दिएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित कार्यक्रमहरूको प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएकी हुन्। उनले क्षतिको एकीकृत विवरणको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै तयार गर्नुपर्ने बताइन्।

प्रधानमन्त्री कार्कीले चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूको खर्च प्रतिशत सन्तोषजनक नदेखिएको भन्दै चिन्ता व्यक्त गरिन्। आन्दोलनको समयमा भएको तोडफोड र आगजनीबाट सार्वजनिक संरचना तथा सम्पतीमा भएको क्षतिका कारण समीक्षा अवधिमा सम्पन्न गर्नुपर्ने कतिपय काम कारवाहीहरूसमेत प्रभावित भएको उनले बताइन्।

उनले बाँकी अवधिमा सम्बन्धित सबै निकायका प्रमुखलाई आ–आफूले सम्पादन गर्नुपर्ने कार्यलाई प्राथमिकता र तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिइन्।

प्रधानमन्त्री कार्कीले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई जेन–जी आन्दोलनको भावना र मर्म बमोजिम सेवाग्राहीमैत्री सेवा, जनआकाङ्क्षा अनुरूप सेवाप्रवाह गर्न उच्च मनोबलका साथ निर्धारित लक्ष्यहरू हासिल गर्नेगरी कार्यसम्पादन गर्न निर्देशन दिइन्।

उनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणप्रति सरकार कटिबद्ध रहेको सन्दर्भमा सार्वजनिक निकायबाट सम्पादन भएका काम कार्यवाहीहरू निष्पक्ष, स्वच्छ र सहज भए/नभएको सुक्ष्म निगरानी तथा अनुगमन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई थप पहल गर्न पनि निर्देशन दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ