संसदीय समितिको सरकारलाई निर्देशन- निर्वाचन भयरहित बनाउन फरार कैदी र लुटिएका हतियार तत्काल खोज
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
846
Shares
काठमाडौँ। संसदीय समितिले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सरकारको तर्फबाट सहभागी गृहमन्त्री ओमप्रकाश अर्यालसँग आगामी निर्वाचनको तयारीबारे जानकारी लिएपछि यस्तो निर्देशन दिएको हो।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाले आगामी निर्वाचन स्वच्छ, निष्पक्षका साथ पूर्ण रुपमा सम्पन्न गर्नको लागि प्रहरीको मनोबल उच्च बनाउनुपर्नेमा जोड दिए।
उनले जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियारहरू संकलन गर्न र हात हतियार लुट्नेहरूलाई खोजी गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिए। साथै, उनले कारागारबाट भागेका कैदीबन्दीलाई पुनः कारागारमा ल्याई मुलुकमा भयरहित वातावरण सिर्जना गर्न नेपाल सरकार र गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताए।
समितिले शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा सरकारसँग छलफल गरेको थियो।