arrow

घट्यो धान उत्पादन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
paddy-dhan-81-6-29.jpg

कैलाली । कैलालीमा यस वर्ष बर्खे धानको उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष बर्खे धानको उत्पादन पाँच दशमलव २६ प्रतिशतले घटेको हो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १७ हजार एक सय ३५ ‘मेट्रिकटन’ले कमी आएको छ ।

यस वर्ष ६८ हजार ५४१ ‘हेक्टर’ क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा तीन लाख आठ हजार चार सय ३४ मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए ।

उनका अनुसार गत वर्ष सोही क्षेत्रफलमा धान खेती गरिएकामा तीन लाख २५ हजार पाँच सय ६९ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व पनि घटेको छ ।

गत वर्ष धानको उत्पादकत्व चार दशमलव ७५ मेट्रिकटन प्रतिहेक्टर रहेकामा यस वर्ष चार दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर रहेको उनले जानकारी दिए ।

“क्षेत्रफल एउटै भए पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ”, सूचना अधिकारी ओझाले भने, “धानलाई आवश्यक भएको बेलामा पानी परेन, धान फुल्ने बेलामा पानी पर्या, जसले गर्दा असर गर्यो, त्यसैले उत्पादन घटेको देखिन्छ ।”

त्यसैगरी यस वर्ष जिल्लामा छ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार एक सय ९२ मेट्रिकटन मकै उत्पादन भएको तथा एक सय तीन हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा एक सय ५४ मेट्रिकटन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ