जेन-जी आन्दोलनपछि गठन भएको 'गतिशील लोकतान्त्रिक पार्टी' निर्वाचन आयोगमा दर्ता [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
1k
Shares
काठमाडौं। जेन-जी आन्दोलनलगत्तै गठन गरिएको 'गतिशील लोकतान्त्रिक पार्टी' औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगका सचिव महादेव पन्थले सोमबार पार्टीका अध्यक्ष डा. दिनेश प्रसाईंलाई दल दर्ताको प्रमाण पत्र प्रदान गरे।
बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरू संलग्न रहेको यो पार्टी नागरिकहरू मिलेर देश बनाउने उद्देश्यका साथ दर्ता गरिएको अध्यक्ष प्रसाईंले बताएका छन्। उनले आफ्नो पार्टीले मुलुकमा रोजगारी सृजनाको विषयलाई मुख्य एजेन्डा बनाएको स्पष्ट पारे।
पार्टी दर्ताको प्रमाणपत्र लिन व्यवसायी बस्नेतसहितका नेताहरू आयोग पुगेका थिए। अध्यक्ष प्रसाईंले आफू १५ वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा राजनीतिक समाजशास्त्र पढाएको उल्लेख गर्दै भने, "अहिलेसम्म राजनीतिमा रोजगारीलाई प्रमुख एजेन्डा बनाइएन भन्ने विषयबाट चिन्तित भएर कसरी रोजगारी सृजना गर्न सकिन्छ भन्ने हिसाबले विस्तृत दुई वर्षदेखि हामीले घनिभूत छलफल गरेका छौँ।"
उनले पर्यटन, कृषि, आइटी, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमार्फत मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न आफूहरू लागिपर्ने पनि बताए।