चीनद्वारा अमेरिकातर्फ निर्यात हुने रणनीतिक सामग्रीमाथिको प्रतिबन्ध अस्थायी रूपमा निलम्बन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
2k
Shares
काठमाडौँ। चीनको वाणिज्य मन्त्रालयले आइतबार संयुक्त राज्य अमेरिकातर्फ निर्यात हुने केही रणनीतिक सामग्रीहरूमा लागू गर्दै आएको प्रतिबन्ध अस्थायी रूपमा निलम्बन गर्ने घोषणा गरेको छ। यस अन्तर्गत ग्यालियम, जर्मेनियम, एन्टिमोनी तथा सुपरहार्ड सामग्रीहरू जस्ता दोहोरो प्रयोग हुने वस्तुहरू समावेश छन्।
मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार यो निलम्बन चीनको सन् २०२४ को घोषणा नम्बर ४६ को दोस्रो खण्ड मा लागू हुनेछ र यसलाई सन् २०२५ नोभेम्बर ९ देखि सन् २०२६ नोभेम्बर २७ सम्मका लागि स्थगित गरिनेछ। उक्त खण्डले विशेषगरी अमेरिकातर्फ यस्ता सामग्रीहरूको निर्यातमा प्रतिबन्ध लगाएको थियो र ग्रेफाइटजस्ता वस्तुहरूका लागि थप कडा समीक्षा प्रक्रिया अनिवार्य बनाएको थियो। तथापि, वाणिज्य मन्त्रालयले अमेरिकी सैन्य प्रयोगकर्ताहरू वा सैन्य प्रयोजनका लागि दोहोरो प्रयोग हुने वस्तुहरूको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने पहिलो खण्ड भने यथावत रहने स्पष्ट पारेको छ।
चिनियाँ ग्लोबल टाइम्सका अनुसार यो निर्णय चीन र अमेरिकाबीच हालै भएको उच्चस्तरीय वार्ताको परिणामस्वरूप आएको हो। यसअघि, सन् २०२४ डिसेम्बरमा जारी गरिएको चिनियाँ निर्यात नियन्त्रण कानूनले कुनै पनि संस्था वा व्यक्तिले चिनियाँ मूलका दोहोरो प्रयोगका वस्तुहरू अमेरिकी संस्थाहरूलाई अनधिकृत रूपमा हस्तान्तरण गरे कानूनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएको थियो।
यसैबीच, यस महिनाको सुरुमा दक्षिण कोरियाको बुसानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका चिनियाँ समकक्षी सी जिनपिङ बीच भएको महत्त्वपूर्ण भेटवार्तापछि दुवै देशबीच व्यापार र आर्थिक सहकार्य सम्बन्धी नयाँ सम्झौता सम्पन्न भएको थियो। ह्वाइट हाउसले नोभेम्बर १ मा सार्वजनिक गरेको तथ्यपत्रअनुसार सो सम्झौता अन्तर्गत चीनले दुर्लभ पृथ्वी तत्वहरू र अन्य महत्त्वपूर्ण सामग्रीहरूमा लगाइएको निर्यात नियन्त्रण अस्थायी रूपमा हटाउने, अमेरिकी उत्पादनहरूमाथिको प्रतिशोधात्मक शुल्क समाप्त गर्ने र केही व्यापारिक प्रतिबन्धहरू पुनः समीक्षा गर्ने सहमति जनाएको छ। त्यसको सट्टामा, अमेरिकाले पनि यस वर्षको नोभेम्बर १० देखि फेन्टानिल नियन्त्रणसँग सम्बन्धित चिनियाँ आयातमा लागू केही करमा १० प्रतिशतसम्म कटौती गर्ने, धारा ३०१ अन्तर्गतका कर छुट अर्को वर्ष नोभेम्बर १० सम्म लम्ब्याउने र चीनको समुद्री तथा जहाज निर्माण क्षेत्रमा सञ्चालन भइरहेका अनुसन्धानहरू अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको छ।
यसका साथै, चीनले नेक्सपेरियाको चीनस्थित उत्पादन केन्द्रहरूबाट व्यापार पुनः सुरु गर्न अनुमति दिने र अमेरिकी सेमीकन्डक्टर कम्पनीहरूविरुद्ध भइरहेको अनुसन्धान स्थगित गर्ने सहमति पनि जनाएको छ। विश्लेषकहरूले यस निर्णयलाई दुई देशबीचको व्यापारिक सम्बन्धमा आंशिक सहजता ल्याउने प्रयासका रूपमा व्याख्या गरेका छन्।